रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी

औषधि व्यवस्था विभागको टोलीले रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी गरेको छ।

रौतहट– रौतहटको चन्द्रपुरमा रहेको केही औषधि पसल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ। औषधि व्यवस्था विभागको शाखा कार्यालय वीरगन्जबाट आएको अनुगमन टोलीले चन्द्रपुरमा चार वटा औषधि पसल अवैध रूपमा सञ्चालनमा रहेको फेला परेको हो।

अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधि पसल, डल्फिन फार्मेसी, आयु मेडिकल हल अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि तालाबन्दी गरेको हो। यस्तै, हाइवे ट्रमा सेन्टरमा रहेको औषधि पसलमा पनि ताला लगाएको छ।

फार्मेसीको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएर अनुसन्धानका लागि सञ्चालकलाई विभागमा हाजिर हुन भनिएको शाखा कार्यालय वीरगन्जका प्रमुख अरविन्द बानियाले जानकारी दिए। उनीहरूलाई औषधि ऐन २०३५ अनुसार कारबाही हुने उनको भनाइ छ।

अन्य केही औषधी पसललाई कागजपत्र नवीकरण गर्नेका लागि सात दिनको समय दिएको र औषधि व्यवस्था विभाग वीरगन्ज शाखाका सम्पर्क राख्न समेत जानकारी गराइएको बानियाले बताए।

रौतहटका करिब दुई दर्जनभन्दा बढी औषधि पसलको अनुगमन गरेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरेर छाडने औषधि व्यवस्था विभागको शाखा कार्यालय वीरगन्जले जनाएको छ।