उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १० जनाको उद्धार

बद्रीनाथको माना गाउँको सीमा क्षेत्रमा सडक निर्माणमा खटिएका मजदुरहरू हिमपहिरोमा फसेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन्।

भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ। हिमपहिरोका कारण सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार फसेकामा १० जनाको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, “सीमा सडक संगठन (बीआरओ) शिविरका निर्माण मजदुर बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासि हिमपहिरो आउँदा केही व्यक्ति  हिउँभित्र फसेका छन्। उद्धारका लागि सुरक्षाकर्मी त्यसतर्फ गइसकेका छन्।” 

उनले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताए। उनले भने, “आईटीबीपी, बीआरओ र अन्य उद्धार टोलीहरूद्वारा राहत र उद्धार कार्यहरू भइरहेका छन्।” 

प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताए।

“मानाको सीमा क्षेत्रमा रहेको बीआरओको शिविर नजिकै ठूलो हिमपहिरो खसेको छ जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका र तीमध्ये १० जना कामदारलाई उद्धार गरी गम्भीर अवस्थामा माना नजिकैको सेनाको क्याम्पमा पठाइएको छ,” प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले एएनआईसँग भने।

यसैबीच, बीआरओका कार्यकारी इन्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए। 

“तीनदेखि चार वटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ,” बीआरओका कार्यकारी इन्जिनियरले भने।

बिहीबार लाहौल र स्पिती प्रहरीले यस क्षेत्रका लागि हिम स्खलनको चेतावनी जारी गरेको थियो।