सांसदहरूको शपथ पुस ७ गते, प्रमाणपत्रसहित उपस्थित हुन संसद् सचिवालयको आग्रह

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले पुस ७ गते १ बजे शपथग्रहण गराउने गरी तयारी भइरहेको जनाए।

काठमाडौँ– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण पुस ७ गते हुने भएको छ।

संघीय संसद् सचिवालयले गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण पुस ७ गते १ बजे हुने जनाएको हो। संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले पुस ७ गते १ बजे शपथग्रहण गराउने गरी तयारी भइरहेको जनाए।

ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएपछि अरू सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ। ज्येष्ठ सदस्यबारे निर्णय भई नसकेको तर विवरण अध्ययनको काम भइरहेको सचिवालयले जनाएको छ। निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभाका २७५ सदस्य निर्वाचित भएका छन्।

मंसिर २९ गते निर्वाचन आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाइसकेको छ। राष्ट्रपति भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आइतबार आह्वान भएका गरेकी छन्। राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसँगै संसद् सचिवालयले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी थालेको हो।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले मातृभाषामा शपथ लिन चाहेमा शपथको बेहोरा मातृभाषामा अनुवाद गरी सचिवालयमा पेस गर्न आग्रह गरेका छन्। मातृभाषामा शपथ लिने सदस्यले निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा २ बमोजिम तीन दिनभित्र अनुवाद गरिएको बेहोरा सचिवालयमा पेस गर्नुपर्ने हुन्छ।

त्यस्तै, सचिवालयले ज्येष्ठ सदस्य हुने शपथग्रहण कार्यक्रममा आउँदा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर दुई घण्टाअगावै राष्ट्रिय वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा अन्तर्राष्ट्रियि सम्मेलन केन्द्र बानेश्वरमा उपस्थित हुन नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आग्रह गरेको छ।