काठमाडौँ उपत्यकासहितका स्थानमा वर्षा, कुन ठाउँमा कति पर्‍यो पानी?

मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रबार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ। शनिबार पनि वर्षाको सम्भावना रहेको तर आइतबारबाट मौसम खुल्दै जाने उनको भनाइ छ।

काठमाडौँ– मधेश प्रदेशबाहेक देशका अधिकांश भूभागमा शुक्रबार वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रबार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ। उनले यो रेकर्डलाई भारी वर्षाका रूपमा लिइने गरिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा भएको छ। ती प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा भएको र केही ठाउँमा भारी वर्षा भएको हो।

बागमती प्रदेशका केही जिल्लामा पनि वर्षा भएको छ। सिन्धुपाल्चोकका क्षेत्रमा अहिले पानी परिरहेको उनले बताए। कोशीका थोरै भूभागमा पानी परेको छ। राति पनि ठाउँ–ठाउँमा वर्षा हुने र भोलि पनि मौसम बदली हुने तर सुधार हुँदै जाने पुडासैनीले बताए।

महाशाखाका अनुसार शुक्रबार रातिका लागि सुदूरपश्चिममा राति पनि वर्षाको सम्भावना छ। गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र कोशीको थोरै ठाउँमा वर्षाको सम्भावना छ।

“भोलि आजभन्दा केही कम छ तर बदली चाहिँ छ, भोलि काठमाडौँमा आजभन्दा केही सुधार मात्रै छ, दिउँसोतिर फाट्टफुट्ट पानी पर्न सक्छ, मधेशमा बदली मात्रै छ, पर्सी आइतबारबाट खुल्छ,” उनले भने।

कुन ठाउँमा कति पानी पर्‍यो
उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ। यो भारी वर्षा हो।

त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ। यता, गण्डकी प्रदेशको मनाङमा हल्का १२.८, बारपाकमा १२.८, म्याग्दी १६.२ वर्षा भएको छ। बागमतीको मेलम्चीमा मध्यम वर्षा ३१.४ मिलिमिटर वर्षा भएको छ।

काठमाडौँको कीर्तिपुरमा १.४, बुढानीलकण्ठमा १.२, सुन्दरीलजमा १.४ र सबैभन्दा बढी ढाप ड्याममा ४.६ मिलिमिटर वर्षा उपत्यकामा भएको छ।