ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायत ठाउँमा भारी हिमपात भएको छ। ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङमा रोकिएका छन्।

ढोरपाटन– भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीय प्रभावित भएका हुन्।

ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायत ठाउँमा हिमपात भएको छ। 

निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ। सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिक प्रभावित भएको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए। 

शुक्रबार दिउसो दुई वर्षदेखि हिमपात शुरू भएको उनको भनाइ छ। अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताए। बस्ती वरपर बाक्लो हिउँ पर्दा स्थानीय बाहिर निस्किन सकेका छैनन्। 

“चिसो अत्यधिक बढेको छ। अहिले बाक्लो हिउँ परेको छ। ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्। उनीहरूलाई गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ,” उनले भने, “पुस–माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो।”

हिमपातले चिसो बढाए पनि स्थानीयलाई खुशी पनि दिएको छ। लामो समयको खडेरीपछि हिमपात हुँदा किसान हर्षित भएका छन्। बारीमा लगाएको गहुँ, जौ र ज्वाँतो सुक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले राहत दिएको छ। 

निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक भने बुर्तिबाङमा रोकिएका छन्। उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ।