काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने

काठमाडौँको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ। फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन्। दुवै सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

काठमाडौँ– काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन्। नेपाल विद्युत् प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ।

यसमध्ये काठमाडौँको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ। फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन्। दुवै सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। भक्तपुरको चाँगुनारायण सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ। सबस्टेसनलाई सञ्चालन (चार्ज)मा ल्याउन मात्र बाँकी छ। चोभार सबस्टेसन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेसन ८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेका छन्।  

प्रत्येक सबस्टेसनको क्षमता ९०/९० एमभीए रहेको छ। सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकामा थप करिब ५०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ। हाल काठमाडौँ उपत्यकाको विद्युत् माग ५०० मेगावाट हाराहारी छ।

भविष्यमा वृद्धि हुन सक्ने विद्युत्‌को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी उपत्यकाका प्रमुख क्षेत्र चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ। सन् २०५० सम्म उपत्यकामा विद्युत्‌‌को उच्चतम माग ३ हजार १०० मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको हो।

सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ। २२० केभी प्रसारण संरचनाले उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायत पूर्व तयारीका काम भइसकेका छन्।

तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/११ केभीको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ।

उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायत आयोजना सञ्चालित छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाको बढ्दो विद्युत् माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणलाई जतिसक्म्दो छिट्टो सम्पन्न गर्न आग्रह गरे। निर्माणाधीन सबै सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौँको विद्युत् माग र आपूर्ति व्यवस्थापन सहज हुने उनको भनाइ छ।