काठमाडौँ प्रहरीले शुरू गर्‍यो लागु औषधविरुद्धको महाअभियान

कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको बताएका छन्।

काठमाडौँ– उपत्यका प्रहरी कार्यालय काठमाडौँले लागु औषध विरुद्धको महाअभियान शुरू गरेको छ। महाअभियानको शनिबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे। 

कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लागु औषधमुक्त समाज निर्माणका निम्ति महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए। लागु औषध व्यक्ति, परिवार हुदै समाजकै लागि घातक रूपमा देखा परिरहेको उनले बताए।

“लागु औषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ। युवाहरूमा नकरात्मक असर पारेको छ,” गृहमन्त्री लेखकले भने, “सरकार, प्रहरीकोको मात्रै विषयवस्तु छैन। यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ।”

यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियान सञ्चालन गर्न जरुरी रहेको उनले बताए। “लागु औषध प्रयोगकर्ताको जीवन समाप्तितर्फ गएकै छ। समग्र परिवार नै चिन्ता र पीडामा जान्छ। यसले अरू अपराधको पनि वृद्धि गरेको छ,” गृहमन्त्री लेखकले भने, “समाजमा विविध खालको अपराध वृद्धि भइरहेको छ। धेरै अपराधको जगमा लागु औषध छ।”

सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको उनको भनाइ छ।