केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र र आर्मी भिड्ने

आयोजक केपी एफसीलाई ४–० को गोल अन्तरले हराउँदै मच्छिन्द्र जारी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ।

काठमाडौँ– आयोजक केपी एफसीलाई हराउँदै मच्छिन्द्र एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले फाइनल यात्रा तय गरेको हो। 

मच्छिन्द्रका लागि स्टेफेन जमालाले २ र मनिष डाँगी, रोशन रानाले १-१ गोल गरे। खेलको ३८औँ मिनेटमा मच्छिन्द्रका मनिषले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। ४९औँ मिनेटमा रोशनले गोल गर्दै मच्छिन्द्रको अग्रतालाई दोब्बर बनाए। खेलको ८६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै मच्छिन्द्रका स्टेफेनले टोलीलाई तेब्बर अग्रतामा पुर्‍याए। पुनः ९०औँ मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० मा पुर्‍याए।

अब मच्छिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आर्मीले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। फाइनल खेल सोमबार हुनेछ। फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने छन्।

प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले पाँच लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।