बैतडीमा लेनदेनको विषयमा विवाद, गोली लागेर १ जनाको मृत्यु

गोली लागेर गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय सुरेन्द्र विष्टको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बैतडी– दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलामा गोली लागेर एक जनाको मृत्यु भएको छ।

शनिबार राति लेनदेनको विषयमा विवाद भएपछि गोली प्रहार हुँदा स्थानीय २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो। 

गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गोली प्रहार गरेका थिए। 

गोली प्रहार गर्ने कर्णबहादुर फरार छन्। उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।