हिमपातका कारण नाग्म-गमगढी सडक तीन दिनदेखि अवरुद्ध

सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेनाले सडकको अवरोध हटाउन काम गरिरहेका छन्। मुगुमा बिहीबारदेखि हिमपात भएको थियो।

मुगु– हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन। सडक डिभिजन कार्यालय जुम्लाले मेसिनको प्रयोग गरेर पन्छाइरहेको भए पनि बाक्लो हिउँ परेकाले समय लागेको जनाएको छ। मुगुमा बिहीबारदेखि हिउँ परेको थियो।

सडकमा बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै बिजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका– ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए। कर्णाली राजमार्गको जिया–बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएका छन्।

सडकको अवरोध हटाउन नेपाली सेनाले पनि काम गरिरहेको जनाइएको छ। आइतबार साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए। 

जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ। हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रु तीन दिनदेखि बाटोमै अड्किएको यात्रु शिवचन्द्र कार्कीले बताए।