बोलिभियामा दुई बस ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु

सरकारी तथ्यांकअनुसार करिब एक करोड २० लाख जनसंख्या भएको देशमा सवारी दुर्घटनाबाट हरेक वर्ष एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ।

बोलिभियाको दक्षिणी भागमा दुई यात्रुवाहक बस ठोक्किँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको छ। 

दुर्घटनामा अन्य ४१ जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित ६ जना विदेशी नागरिक थिए। अन्य सात नाबालकको पनि मृत्यु भएको छ। दुर्घटना शनिबार बिहान साँघुरो दुईतर्फी सडकमा भएको थियो।

यस सप्ताहन्तमा आयोजना हुने ओरुरो कार्निभलका लागि एउटा बस ओरुरो शहरतर्फ जाँदै थियो। ओरुरो कार्निभल दशौँ हजार मानिसलाई आकर्षित गर्ने ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो उत्सवमध्ये एक हो।

पोटोसी अभियोजक गोन्जालो अपारिसियोले एक बसका चालकले मदिरा सेवन गरेको र तीव्र गतिमा विपरीत लेनमा पुगेर आउँदै गरेको सवारीसँग ठोक्किएको बताए। बोलिभियाका घुमाउरो पहाडी सडक अत्यन्तै घातक मानिन्छन्। 

सरकारी तथ्यांकअनुसार करिब एक करोड २० लाख जनसंख्या भएको देशमा सवारी दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ। शनिबारको ठक्करअघि यस वर्ष पोटोसीमा मात्र ६४ व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको थियो।