हिउँ पन्छाएर ३ दिनपछि सञ्चालनमा आयो नाग्म-गमगढी सडक

जमेको हिउँ र पहिरो पन्छाएर नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा ल्याइएको छ।

मुगु– हिमपात र पहिरोका कारण बन्द भएको नाग्म–गमगडी सडकखण्ड तीन दिनपछि सञ्चालनमा आएको छ। यो सडकखण्ड भुलभुले र सात मोड क्षेत्रमा बाक्लो हिमपातका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो।

सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो। सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि र स्थानीयको दैनिकी सहज बनेको छ। सडक अवरुद्ध भएर तीन दिनदेखि रोकिएका पर्यटक र सवारीसाधन पनि आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

सडक डिभिजन जुम्ला, नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा सडक खुला भएको हो। मेसिन र जनशक्ति परिचालन गरी भुलभुले, सात मोड क्षेत्रको हिउँ र पहिरो हटाइएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए। उनका अनुसार यो सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा सहज भएको छ।

प्रहरी चौकी गोठीज्युलाबाट खटिएको टोली र स्थानीयले जियादेखि भुलभुलेसम्मको करिब चार किलोमिटर क्षेत्रमा पहिरो पन्छाएका हुन्। प्रहरी नायब उपरीक्षक छेदिलाल कामती भने, “हाम्रो टोलीले रातदिन नभनी काम गरेको छ।” सडक सुचारु भएपछि सवारीसाधानलाई आवतजावत गर्न सहज भएको उनको भनाइ छ।