अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो– क्रेमलिन

अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः आफ्नै देशको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको क्रेमलिनले‍ टिप्पणी गरेको छ।

अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः आफ्नै देशको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको भनी रुसले‍ गरेको टिप्पणी आइतबार सार्वजनिक गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क स्थापित गरेर मस्कोसँग सम्बन्ध निर्माणको प्रयासमा छन्। संयुक्त राष्ट्रसंघमा पनि अमेरिका रुसको पक्षमा उभिएको छ।

“नयाँ प्रशासनले विदेश नीतिका सबै संरचना द्रुत गतिमा परिवर्तन गरिरहेको छ। यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी टेलिभिजनका एक पत्रकारलाई भने, “अझै लामो बाटो तय गर्नुपर्ने छ, किनकि द्विपक्षीय सम्बन्धको सम्पूर्ण परिसरमा ठूलो क्षति भएको छ। यदि दुई राष्ट्रपति पुटिन र ट्रम्पको राजनीतिक इच्छाशक्ति कायम रहेमा यो मार्गमा निकै छिटो सफल मिल्नसक्छ।”

पेस्कोभले यस्तो टिप्पणी बुधबार गरेको भए तापनि आइतबार मात्र सार्वजनिक गरिएको थियो।

शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई हप्काउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आफूलाई मस्कोको अझ नजिक पुर्‍याएका थिए।

सन् २०२२ फेब्रुअरीमा आफ्नो छिमेकीविरुद्ध पूर्ण सैन्य आक्रमण शुरू गरेको मस्कोले अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले युक्रेनलाई बिनाशर्त समर्थन गरेकोमा निन्दा गरेको थियो।