ह्वाइट हाउसमा छताछुल्ल कूटनीतिक बर्बादी

झूटो नै सही, सधैँ अरूबाट तारिफ र प्रशंसा मात्र सुन्ने आदत परेका ट्रम्पलाई जेलेन्स्कीको जवाफ चित्त बुझ्ने कुरै थिएन। चोर औँला देखाउँदै भने, ‘तिमी तेस्रो विश्वयुद्धका लागि जुवा खेल्दै छौ!’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच गत शुक्रबार ह्वाइट हाउसमा जस्तो ‘डिप्लोमेसी डिब्याकल’ देखियो, त्यस्तो दृश्य मित्र शक्तिबीच क्यामरासामुन्ने मात्र होइन, पर्दापछाडि पनि बिरलै हुन्छ।

सर्वप्रथम, आफ्ना घरमा आएका विदेश पाहुनालाई अमेरिकी प्रथम र द्वितीय नेताले क्यामरासामु जसरी ललकारे, त्यसमा ट्रम्पको गैरकूटनीतिक शैली तथा दम्भ छताछुल्ल हुन्छ। यसको अमेरिकाभित्र नै प्रतिपक्षी डेमोक्रयाटले विरोध गरेका छन् भने रिपब्लिकनले ट्रम्पको बचाउ गरेका छन्।

जेलेन्स्कीले पनि ट्रम्प र भान्ससँग क्यामरासामु भएको संवादलाई अलि कूटनीतिक ढंगले सम्हाल्न सक्थे होलान्। भान्सले उनलाई युक्रेनमाथिको तबाही अन्त्यमा ट्रम्पले कूटनीतिक प्रयास गरिरहेको बताए, जेलेन्स्कीले पनि ‘जस्तालाई त्यस्तै’ शैलीमा प्रथम नाउँको छोटकरीमा सम्बोधन गर्दै भान्सलाई ‘तिमी कस्तो कूटनीतिको कुरा गर्छौ जेडी?’ भनेपछि स्थिति गरम बन्न पुग्यो।

यद्यपि, त्यस बखतको वार्तालापका कारण मात्रै असहमति र वादविवाद छरपस्ट भएको पक्कै होइन। जेलेन्स्की जुन उद्देश्यसाथ ह्वाइट हाउस छिरेका थिए, जुन प्रयोजनले ट्रम्पले उनलाई त्यहाँ स्वागत गरेका थिए, त्यो प्राप्त हुन नसक्नु पृष्ठभूमिको कारक थियो। अमेरिकाले तीन वर्ष लामो रुस–युक्रेन युद्धमा जति सैन्य तथा आर्थिक सहायता दिएको छ, त्यसको शोधभर्ना स्वरूप युक्रेनले उसको दुर्लभ खनिज पदार्थमा अमेरिकालाई पहुँच देओस् भन्ने अमेरिकी र ट्रम्पको चाहना देखिन्छ। 

जेलेन्स्कीले दुर्लभ खनिजमाथि अमेरिकी पहुँचको बदलामा युक्रेनमाथि रुसले भविष्यमा आक्रमण गर्ने छैन भनेर अमेरिकी सुरक्षा सुनिश्चितता खोजे, जसमा ट्रम्प प्रशासनले उनलाई आश्वस्त तुल्याउन सकेन। उल्टै, युक्रेनको सुरक्षा सुनिश्चितताबिनै दुर्लभ खनिज (रेयर अर्थ)मा आधी हिस्सा अमेरिकाको हुने गरी संयुक्त रूपमा उत्खनन गर्ने सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्कीमाथि चर्को दबाब थियो, जुन जेलेन्स्कीले स्विकार्न सकेनन्।

फेरि, अमेरिकाले हालसम्म युक्रेनलाई कति सहायता दियो भन्नेमा समेत मतैक्य छैन। ट्रम्पको दाबीअनुसार वासिङ्टनले करिब ३५० अर्ब डलर बराबरको सैन्य तथा आर्थिक सहायता गरेको छ। तर, युक्रेनका लागि बाह्य सहायतामाथि अध्ययन गर्दै आएको जर्मनीस्थित स्वतन्त्र थिंक ट्यांक, किल इन्टिच्युटका अनुसार युक्रेनमाथि रुसी आक्रमण शुरू भएयता गत डिसेम्बरसम्म अमेरिकाले ११९.७ बिलियन डलरको सैन्य तथा आर्थिक सहायता उपलब्ध गराएको छ।

शुरूमा अमेरिकाले ५०० अर्ब डलर बराबरको रेयर अर्थ आफूलाई उत्खनन गर्न दिनुपर्ने प्रस्ताव राखे पनि ह्वाइट हाउसमा जेलेन्स्कीले त्यसलाई संशोधन गरी त्यस्तो खनिज उत्खननमा दुवै देशको हिस्सा बराबर हुने गरी संशोधित प्रस्ताव राखेको अमेरिकी मिडियाले उल्लेख गरेका छन्। तैपनि, अमेरिकी सुरक्षा सुनिश्चितताबिना उक्त सम्झौता लगभग भाँडिने स्पष्ट भएपछि दुवै पक्ष हताश, निराश र आक्रोशित भएको देखिन्छ। ओभल अफिसमा दुवै तर्फबाट प्रेससामु त्यो पोखियो। 

कूटनीतिमा शाब्दिक सञ्चारसँगै अशाब्दिक सञ्चार (ननभर्वल कम्युनिकेसन)लाई पनि धेरै महत्त्व दिइन्छ। खाने, लाउने, बोल्ने र सम्बोधन गर्नेलगायत भावभंगीले ठूलो अर्थ राख्छ। सम्भवतः उक्त भेटमा जेलेन्स्कीको पोसाक छनोटप्रति ट्रम्प र भान्सको चित्त नबुझेको हुनसक्छ। उनी युक्रेनी त्रिशूलसहितको सैन्य शैलीको कालो स्वेटसर्टमा ह्वाइट हाउस पुगेका थिए। ह्वाइट हाउसमा पाइला राख्नेबित्तिकै ढोकैमा ट्रम्पले उनको पोसाक छनोटमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए–यू आर अल ड्रेस्डअप् टुडे (तिमी आज राम्रोसँग सजिएका छौँ!) 

सामान्यतः चित्त नबुझे पनि विदेशी अतिथिमाथि व्यक्तिगत टिप्पणी गरिँदैन। रुसले आक्रमण थालेपछि जेलेन्स्कीले विश्वका नेताहरूको औपचारिक भेटवार्तामा समेत टाइसुट र औपचारिक पोसाक लगाएका छैनन्। युद्धकालीन नेताका रूपमा हमेसा सैन्य वा अनौपचारिक पोसाकमा आफूलाई उतार्ने गरेका छन्। युद्धमा होमिएका युक्रेनी सेनाप्रति ऐक्यबद्धताका लागि त्यस्तो पोसाक लगाएको उनको भनाई छ।

तैपनि युक्रेनलाई उपलब्ध गराइएको अमेरिकी सैन्य सहायतालाई लिएर अमेरिकामा दक्षिणपन्थी आलोचकले जहिल्यै उनको पोसाकलाई मुद्दा बनाउने गर्दै आएका छन्। 

ह्वाइट हाउसमा वार्ताका दौरान पनि दक्षिणपन्थी च्यानल, ‘रियल अमेरिकाज् भ्वइस्’का संवाददाता ब्रायन ग्लिनले जेलेन्स्कीको पोसाकप्रति टिप्पणी गर्दै उनले ट्रम्पसँगको भेटलाई ‘सम्मान गर्न नसकेको’ आरोप लगाए, जसमा जेलेन्स्कीले ‘सामान्य अवस्था भएको भए’ आफूले औपचारिक पोसाक नै लगाउने जवाफ दिए।

बीबीसीका अनुसार ब्रायनको प्रश्नपछि वार्ता कक्षमा केहीबेर सन्नाटा छाएको थियो। सायद, पछि क्यामरासामु ट्रम्प र भान्सले जेलेन्स्कीलाई अमेरिकाप्रति ‘डिस्रेस्पेक्टफुल’ भन्नुमा त्यो पनि सहायक कारण हुनसक्छ।

राष्ट्रपति ट्रम्पले हमेसा आफूलाई सौदाग्राही (डिल मेकर)को रूपमा प्रस्तुत गर्दै आएका छन्। यस पटक युक्रेनसँग आधी ट्रिलियन डलरको दुर्लभ खनिज अमेरिकी पहुँचमा पुर्‍याउने र त्यसबाट घरेलु मैदानमा राजनीतिक ‘माइलेज’ लिने जुन प्रयास गरेका थिए, अमेरिकाले युक्रेनको सुरक्षा ग्यारेन्टी नगर्दासम्म जेलेन्स्की त्यसका लागि तयार भएनन्। जसले ट्रम्पको आक्रोश झनै बढाएको देखिन्छ।

वास्तवमा ट्रम्प २.० को विदेश नीतिको एउटा मूलमन्त्र नै दुर्लभ खनिज (रेयर अर्थ) प्राप्ति देखिन्छ। यो अमेरिकाका लागि किन पनि महत्त्वपूर्ण छ भने यसको झन्डै आधी मौज्दात चीनसँग छ। साथै, विश्वमा कुल उत्खननको ९० प्रतिशत हिस्सा चीनको एकलौटी छ भने अन्तर्राष्ट्रिय बजारमा चीनको निर्यात ७० प्रतिशत जति छ। 

रेयर अर्थ आधुनिक ब्याट्री, ग्रिन इनर्जी टेक्नोलोजी, एआईदेखि माइक्रोचिप्स र अत्याधुनिक हातहतियार उत्पादनमा एकदमै महत्त्वपूर्ण मानिन्छ। अर्थात्, रेयर अर्थमाथि उल्लेख्य पहुँचबिना चीनसँग रणनीतिक प्रतिस्पर्धामा अमेरिकाले जहिल्यै गोता खान सक्छ। र, यसको यथार्थ अमेरिकी विदेश नीतिका सञ्चालक मात्र होइन, अमेरिकी टेक जायन्ट र तिनका मालिकले समेत राम्ररी बुझेका छन्।

अमेरिकासँग एक त निकै थोरै मात्र रेयर अर्थ रहेको छ, त्यसमाथि त्यहाँ त्यसको उत्खननका लागि कानूनी तथा वातावरणीय विधि विधान पनि निकै जटिल छ। त्यसैले, चीनसँगको अत्यधिक निर्भरतालाई कम गर्न उसले कैयौँ विकल्पमाथि आँखा लगाइरहेको देखिन्छ।

तसर्थ, अमेरिकी ‘टेक धनाढ्य’को समर्थन र साथमा ह्वाइट हाउसमा फर्किएका ट्रम्पले यो मुद्दालाई सतही रूपमा लिएका छैनन्। रेयर अर्थमाथि अमेरिकी पहुँच बढाउनकै लागि ट्रम्पले क्यानडालाई ५१औँ अमेरिकी राज्य हुनसक्ने भनेर टिप्पणी गरेको भनेर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएकै छन्।

न्युजविकका अनुसार पछिल्लो समय अमेरिकाले डेनिस भूमि ग्रिनल्यान्डमाथि आँखा लगाउनुमा पनि त्यहाँ रहेको प्रचुर रेयर अर्थ नै मुख्य कारण हो, जहाँ अमेरिकाले ५० महत्त्वपूर्ण रेयर अर्थ वर्गीकरण गरेकोमा ३९ रहेको पुष्टि भइसकेको छ। 

युक्रेनसँग रेयर अर्थमा सम्झौता नै हुन्थ्यो भने पनि जेलेन्स्कीले माग गरेजस्तो ट्रम्प प्रशासनले अहिल्यै भविष्यमा रुसले युक्रेनमाथि आक्रमण गर्नेछैन भनेर ग्यारेन्टी गर्न सक्ने अवस्था त्यति छैन। किनकि, पुटिन वा रुसी आक्रमणबाट बचाउन कि युक्रेनलाई नेटोको सदस्यता दिनुपर्‍यो कि रुसलाई त्यसका लागि वचनबद्ध गर्न र गराउन सक्नुपर्‍यो। कि युक्रेनमाथि भविष्यमा आक्रमण भए अमेरिका र ईयूले संयुक्त रूपमा सशक्त प्रतिकार गर्ने भनेर सम्झौता गर्नुपर्‍यो। त्यो भनेको पनि साबिक अमेरिका वा ईयूले दिँदै आएको सैन्य सहायताभन्दा ठूलो सहयोग र बचनबद्धता हो। 

ट्रम्पले ह्वाइट हाउसमा बोलाएर अरू नेता वा पाहुनालाई दपेटेजस्तो जेलेन्स्कीलाई पनि थर्काउने र दबाब दिने रणनीति अख्तियार गरे। पुटिनको युद्धबाट नगलेका जेलेन्स्की ट्रम्पको धम्कीबाट गल्ने कुरा थिएन र उनी प्रतिवाद र सवाल जवाफमा उत्रिए। झूटो नै सही, सधैँ अरूबाट तारिफ र प्रशंसा मात्र सुन्न आदत परेका ट्रम्पलाई चित्त बुझ्ने कुरो थिएन। त्यसैले, उनले जेलेन्स्कीप्रति चोरी औँला देखाउँदै भने, ‘तेस्रो विश्वयुद्धको लागि जुवा खेल्दै छौ!’  

ट्रम्पको रिस त्यसमा मात्र सीमित छैन। सन् २०१९ मा ट्रम्पले राष्ट्रपतिमा २०२० का उनका प्रत्याशी तथा पूर्वराष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको युक्रेनियन इनर्जी कम्पनी, बुरिस्मा होल्डिङसँगको  व्यापार सम्झौताबारे छानबिन अघि बढाउन जेलेन्स्कीमाथि दबाब दिएका थिए, जुन सार्वजनिक भएपछि ट्रम्पमाथि अमेरिकी तल्लो सदनमा पहिलो पटक महाअभियोग पारित भएको थियो। साथै, गत अक्टोबरमा डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसलाई सहयोग पुग्नेगरी जेलेन्स्कीले पेन्सिल्भानियाजस्तो ब्याटल ग्राउन्ड राज्यमा एक कार्यक्रममा सहभागी भएको ट्रम्पको चुनावी अभियानको आरोप थियो। त्यसर्थ, जेलेन्स्की ट्रम्पको पहिलो कार्यकालदेखि नै रुचाइएको पात्र होइनन्।

ह्वाइट हाउसमा पुग्नुभन्दा ठीक अघि पनि ट्रम्प र जेलेन्स्कीबीचको संवाद सङ्लो थिएन, एकअर्काबीच वाकयुद्ध चलेकै थियो। ट्रम्पले जेलेन्स्कीलाई तानासाह भन्दै युद्धका लागि जिम्मेवार ठहर्‍याएपछि जेलेन्स्कीले पनि उनी रुसी ‘डिस्इन्फरमेसन स्पेस’मा बाँचिरहेको टिप्पणी गरेका थिए। ट्रम्पसँगको तिक्ततापूर्ण सम्बन्ध, उनी प्रशंसाका भोका भएको तथा ट्रम्पलाई ह्वाइट हाउसमै भेटेका बेलायती, फ्रान्सेली र जापानी नेताबाट जेलेन्स्कीले सिक्न सकेनन्, जसले ट्रम्पलाई झूटो प्रशंसाको पगरी नै गुथाएका थिए।

युद्ध अन्त्य गर्ने सन्दर्भमा ट्रम्प कसको पक्षबाट वकालत गरिरहेका छन् भन्ने पनि द्विविधाग्रस्त देखिन्छ। एकातिर, अमेरिकाले शुरूदेखि नै युक्रेनलाई एक हदसम्म रुसविरुद्ध युद्ध गर्न उकास्यो र मित्र शक्तिका रूपमा सैन्य तथा आर्थिक सहायता गर्दै आयो। अर्कोतिर, ट्रम्प आउनासाथ अमेरिकाले संयुक्त राष्ट्रसंघमा युक्रेन र युरोपेली संघले अघि बढाएको प्रस्तावको विपक्षमा मतदान गरी रुसलाई उक्त आक्रमणको जिम्मेवार ठहर्‍याउनेमा भाँजो हाल्यो। यसर्थ, दी एटलान्टिकमा स्तम्भकार टम निकोलसको टिप्पणी छ, ‘जेलेन्स्कीलाई गलाउन र रुससँग सम्झौता गर्न बाध्य पार्न ट्रम्प प्रशासनले जेलेन्स्कीलाई ह्वाइट हाउसमा ‘एम्बुस’ थापेको थियो।’

शुक्रबारको घटना नियोजित वा स्वतःस्फूर्त जे भए पनि जेलेन्स्की ट्रम्पजस्तो सन्की र अनुमान गर्न नसकिने स्वभावका व्यापारीसँग सम्झौता नभए पनि सार्वजनिक सवालजवाफमा खरो उत्रिए। उनले युक्रेनी गौरवलाई जीवितै राखे र ट्रम्प प्रशासनलाई प्रश्न गरे कि तिमी हाम्रो पक्षमा हौ कि रुसी तानासाहको पक्षमा? यसमा ट्रम्प प्रशासनको रुझान स्पष्ट छैन, तर पश्चिमा युरोपेली समुदाय एक पटक फेरि रुसी युद्धमा युक्रेन ‘खलनायक नभई, पीडित’ भएको भन्दै जेलेन्स्कीको साथ दिइरहेका छन्। युरोपेली नेताहरू लन्डनमा भेला हुँदै छन्, जससामु एउटै मोर्चामा उदाएका ट्रम्प र पुटिनसँग कसरी डिल गर्ने र युक्रेनको पक्षमा पश्चिमा प्रजातन्त्रलाई कसरी गोलबद्ध गर्ने भन्ने टड्कारो रणनीतिक चुनौती सामना गर्दै छन्।