युगान्डामा हुने क्रिकेट शृंखलाका लागि राष्ट्रिय टोली घोषणा

क्यानले युगान्डामा हुने चार देश सम्मिलित टी२० महिला क्रिकेट शृंखलाका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

फाइल तस्वीर

काठमाडौँ– युगान्डामा हुने चार देशसम्मिलित टी२०आई महिला क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाली टोलीमा कप्तान इन्दुबाहेक बिन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी समेटिएका छन्। त्यस्तै, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना छेत्री, अलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रवीण र ईश्वरी विष्ट पनि टोलीमा छन्। 

युगान्डा क्रिकेट एसोसियनको आयोजनामा मार्च ६ देखि १७ सम्म क्रिकेट शृंखलामा हुन लागेको हो। शृंखलामा नेपाल, युगान्डासहित हङकङ र नामिबियाको महिला टोलीबीच प्रतिस्पर्धा हुने छ। खेल डबल राउन्ड रोबिनमा सञ्चालन हुने छ।

नेपालले शृंखलाको पहिलो खेल ८ मार्चमा नामिबियासँग खेल खेल्नेछ। यस्तै, आयोजक युगान्डासँग ९ मार्चमा र हङकङसँग १० मार्चमा खेल्ने छ। यसअघि नेपालले घरेलु मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको शृंखला खेलेको थियो।