बेलायतले युक्रनेलाई ५ हजार हवाई रक्षा मिसाइल दिने

युक्रेनको लागि आफ्नो समर्थन अटल रहेकाे बताउँदै स्टारमरले युरोपले आफ्नो सुरक्षाको लागि कडा परिश्रम गर्नुपर्ने चेतावनी पनि दिएका छन्।

काठमाडौँ– बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनमा शान्तिको योजनामा काम गरिरहेको बताएका छन्। उनले युक्रेनलाई पाँच हजार हवाई रक्षा क्षेप्यास्त्र आपूर्ति गर्न बेलायतले लगभग १.६ अर्ब पाउन्ड (लगभग २ अर्ब अमेरिकी डलर)को निर्यात वित्तपोषण प्रयोग गर्ने बताए।

आइतबार लन्डनमा अन्य युरोपेली र विश्व नेताहरुसँगको सुरक्षा शिखर सम्मेलनको समापनमा बोल्दै स्टारमरले रुससँगको शान्ति वार्ताको क्रममा युक्रेनलाई बलियो स्थितिमा राख्न युरोपले आर्थिक सहयोग प्रदान गर्ने बताएका हुन्।

गत शुक्रबार ह्वाइट हाउसमा भएको वार्ता असफल होस् भन्ने कसैले नचाहेको र अमेरिका अझै पनि एक महत्त्वपूर्ण सहयोगी रहेको उनको भनाइ छ।

“अमेरिका धेरै दशकदेखि बेलायतको विश्वासिलो सहयोगी रहेको छ र भविष्यमा पनि यस्तै रहनेछ। हाम्रो देश जत्तिको नजिकबाट जोडिएका कुनै पनि दुई देश छैनन्,” उनले भने, “बेलायतले युक्रेनलाई पाँच हजार हवाई रक्षा क्षेप्यास्त्र आपूर्ति गर्न १.६ अर्ब पाउन्ड वित्तपोषण प्रयोग गर्नेछ।”

अमेरिकाले युक्रेनलाई दिएको समर्थन खतरामा परेको बेला यो बैठक भएको थियो। रुस युक्रेनबीच शान्ति स्थापना गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई खनिज सम्झौताको लागि ह्वाइटहाउसमा बोलाइए पनि छलफल सफल हुन सकेको थिएन। उल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई अमेरिकी समर्थनप्रति कृतज्ञ नभएको आरोप लगाएका थिए।

स्टारमरले युरोपले आफ्नै सुरक्षाको लागि कडा परिश्रम गर्नुपर्ने चेतावनी पनि दिएका छन्। साथै उनले युक्रेनको लागि आफ्नो समर्थन अटल रहेकाे जनाएका छन्।

“म रुसको अवैध युद्धको अन्त्य गर्ने र युक्रेनलाई सार्वभौमसत्ता र सुरक्षामा आधारित दिगो शान्तिको ग्यारेन्टी दिने बाटो खोज्न कटिबद्ध छु,” उनले भनेका छन्।

यस्तै, बेलायतका रक्षा सचिव जोन हेली एमपीले पनि युक्रेनमा दिगो शान्तिका लागि बेलायतले नेतृत्वदायी भूमिका निभाइरहने बताए।

उनले भने, “हामी सबै सुरक्षित र दिगो शान्ति चाहन्छौँ। बेलायतले युद्धविराम र दिगो शान्ति सुनिश्चित गर्न युक्रेनलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गरिरहनेछ।”