यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' बन्यो उत्कृष्ट, जित्यो पाँच विधामा ओस्कार

लस एन्जलसको डल्बी थिएटरमा आयोजित ९७औँ ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ।

बाँयाबाट, ओस्कर विजेता एड्रियन ब्रोडी, मिकी म्याडिसन, जो साल्डाना र किरन कल्किन एकेडेमी अवार्ड्स प्रेसरुममा। तस्वीर: सीएनएन

काठमाडाैँ– लस एन्जलसको डल्बी थिएटरमा आयोजित ९७औँ ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ। समारोहमा सबै २३ विधाका ओस्कार विजेताहरूको घोषणा गरिएको छ।

यस वर्ष यौनकर्मीको कथामा आधारित रोमान्टिक-कमेडी फिल्म 'अनोरा'ले प्रभुत्व जमायो। यसले उत्कृष्ट चलचित्रसहित पाँच ओस्कर जित्यो। यस चलचित्रबाट मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। यस्तै, अनोराका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाए। जबकि यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ।

यसैबीच, द ब्रुटालिस्ट अभिनेता एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन्। द ब्रुटालिस्टले पनि तीन विधामा ओस्कार पुरस्कार प्राप्त गरेको छ। डेनियल ब्लमबर्गले यही चलचित्रमा आफ्नो कामको लागि सर्वश्रेष्ठ मौलिक स्कोरको लागि ओस्कर जिते भने सिनेमाटोग्राफीको लागि ओस्कार पनि यही चलचित्रले पायो।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको ओस्कार अवार्ड 'आइ एम स्टिल हियर' (ब्राजिल) ले जित्यो। यस्तै, 'आई एम नट अ रोबोट' फिल्मले लाइभ एक्सन सर्ट फिल्म विधामा अवार्ड जितेको छ।

सहायक भूमिकामा 'अ रियल पेन'बाट किरान कुकिन उत्कृष्ट सहअभिनेताको अवार्ड प्राप्त गरे भने उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जोइ साल्दियाले 'इमिरिया पिरेज'का लागि प्राप्त गरिन्।

उत्कृष्ट डकुमेन्ट्री फिचरको अवार्ड 'नो अदर ल्यान्ड'ले पायो। यस्तै, डकुमेन्ट्री सर्टमा 'द अन्ली गर्ल इन अर्केस्ट्रा' तथा एनिमेटेड फिचर फिल्मको अवार्ड 'फ्लो'ले प्राप्त गर्‍यो।