नेपाललाई साफको विजेता बनाउने नवनियुक्त फुटबल प्रशिक्षकको लक्ष्य

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बिदेसिएका खेलाडीलाई देशको प्रतिनिधित्व गर्नेगरी स्वदेश फर्काउने प्रयासमा लाग्ने पनि बताएका छन्।

काठमाडौँ– नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर बिदेसिएका खेलाडीलाई स्वदेश फर्किएर नेपालको प्रतिनिधित्व गर्न ढोका खोल्ने बताएका छन्।

प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौँमा आयोजित अन्तरक्रियामा उनले विदेश गएका खेलाडीलाई स्वदेश फर्किने वातावरण बनाए देशको प्रतिनिधित्व गर्नका लागि ढोका खोल्ने बताएका हुन्।

“खेलाडीहरू नेपाल छोडेर बाहिर गएका छन्, उनीहरूको आफ्नो कारण वा बाध्यताले बिदेसिएका छन्। उनीहरूका लागि ढोका खोल्न चाहन्छु,” उनले भने, “आफ्नो देशलाई प्रतिनिधित्व गर्नको बाटो खोल्ने प्रयासमा हुनेछु।”

उनले खेलाडीमा रहेको जोसलाई एकै ठाउँमा ल्याएर मैदानमा उतार्दै यसपालिको साफ च्याम्पियनसिप जित्ने प्रयासमा लाग्ने बताए। “मेरो काम भनेको खेलाडीमा रहेको जोसलाई एकै ठाउँमा ल्याएर मैदानमा उतार्नु हो। यसपालिको साफ च्याम्पियनसिप जित्न चाहन्छु। म टिमलाई एशियन कपको नजिकभन्दा नजिक लगेर एशियन कपमा छनोट हुने प्रयासमा लाग्ने छु। चुनौतीपूर्ण नै भए पनि कोच भएपछि चुनौती मन पर्ने नै हुन्छ’ उनले भने।

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा नियुक्त हुन पाउँदा एकदमै खुशी लागेको उल्लेख गर्दै नेपाल एकदमै विशेष देश भएको उनले बताए। 

“नेपाल एकदमै राम्रो देश हो यहाँको मानिस यहाँको खाना, सम्मान सबै एकदमै राम्रो छ। तपाईंहरू सबै नेपालमा नै भएको हुनाले सायद तपाईंहरूसँग के छ भन्ने कुरा थाहा नभएको होला तर मैले धेरै देशहरूमा काम गरेको हुनाले नेपालमा भएको जोस अविस्मरणीय छ,” उनले भने।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले म्याट रसलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो। एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। एशियन कप छनोटका खेल शुरू हुन झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो।