केपी ओली कपको उपाधिमा मच्छिन्द्रको ह्याट्रिक

दुई चोटिको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सोमबार भएको फाइनलमा आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै केपी ओली कपको उपाधि जितेको छ।

काठमाडौँ– केपी ओली कपको उपाधिमा मच्छिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ। 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो।

मच्छिन्द्रले खेलको २९औँ मिनेटमा अग्रता लिएको थियो। आर्मीका विमल पाण्डेले आफ्नै पोस्टमा आत्मघाघी गोल गर्न पुगेका थिए।

दोस्रो हाफमा मच्छिन्द्रका स्टेफेन जमाह जालेले अर्को गोलले थप्दै अग्रता दोब्बर बनाए। स्टेफनले ७२औँ मिनेटमा दोस्रो गोल थपेका थिए।

प्रतियोगिताको विजेता टोली मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता टोली आर्मीले पाँच लाख रुपैयाँमा चित्त बुझाएको छ।

मच्छिन्द्र आयोजक टोलीलाई ४–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो भने आर्मी फाइनलमा पुग्दा संकटा क्लबलाई २–१ गोल अन्तरले हराएको थियो।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रंगशाला पुगेका थिए। त्यस्तै इटालियन फुटबल टोलीका पूर्वकप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल फागुन ११ गतेदेखि शुरू भएको थियो।