थापाथलीमा खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध [तस्वीरहरू]

थापाथली चोकबाट प्रसूतिगृहतर्फ जाने सडकमा मंगलबार बिहान पाइप फुटेर पानी बाहिर निस्किँदा सडकसमेत भत्किएको छ। हिलो र गिट्टी छरिएका छन्।

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ। 

थापाथली चोकबाट प्रसूतिगृहतर्फ जाने सडकमा मंगलबार बिहान पाइप फुटेर पानी बाहिर निस्किँदा सडकसमेत भत्किएको छ। सडकपेटीमा पनि क्षति पुगेको छ। सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएपछि सडक अवरुद्ध भएको छ ।

पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए। “पाइप फुटेर क्षति भएको छ। के कारणले पाइप फुटेको हो कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण गरिने छ,” उनले भने। 

सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको छ। केही दिनअघि बबरमहलमा पनि खानेपानीको पाइप फुटेर बाढी आएको थियो। त्यस क्षेत्रका सरकारी कार्यालय नै डुबानमा परेका थिए।