नक्सालमा बल्झिएको ‘हेरिटेज वाक वे’ विवादः कस्तो बन्दैछ सडक?

काठमाडौँ उपत्यकाभित्रका पुराना बस्तीमध्येको नक्साल भगवतीवहालस्थित सडक लामो समयदेखि अस्तव्यस्त छ। यसपछाडि जोडिन्छ, सडकमा गाडी निषेध गरेर सम्पदा पदमार्ग बनाउन स्थानीयले उठाएको आवाज।   

तस्वीर: मेनुका/उकालो

काठमाडौँ– नक्सालस्थित भगवतीवहालदेखि नागपोखरी (नारायणचौर छेउ) सम्म जाने सडक केही वर्षदेखि अस्तव्यस्त छ। खनेर भत्काइएको यो सडक बनाउन ठेक्का लागेको पनि दुई वर्ष बितिसकेको छ। तर अहिलेसम्म सडक उही हालतमा छ। सवारी आवागमनको चाप हुने, व्यापार व्यवसाय राम्रो चलिरहेको ४१० मिटर लामो यो सडक पछिल्लो समय भने सवारी साधनसमेत चल्न सक्ने अवस्थामा छैन। आवागमन नै ठप्प भएपछि व्यापार व्यवसाय सुस्ताएको छ।

भगवतीवहाल–नागपोखरी जोड्ने सडकको यस्तो हविगत किन भयो? अहिले चाहिँ ढुंगा बिछ्याउन थालिएको यो सडकले बल्झाएको विवाद के हो? के गरेर त्यो विवाद समाधान गरियो? अनि अब चाहिँ यहाँ कस्तो सडक बन्छ? यसबारे बुझ्न यो सडकबारे देखिएको विवादको चुरोमा पुग्नुपर्छ।

विवादको चुरो 
इतिहासकार धनबज्र बज्राचार्यको २०३० सालमा प्रकाशित पुस्तक ‘लिच्छविकालका अभिलेख’ मा उल्लेख भएअनुसार नक्सालको बस्ती त्यो बेला नै अस्तित्वमा थियो। अर्थात् यो लिच्छविकालकै बस्ती थियो। पुस्तकमा नक्सालको ढुंगेधारामा एक बिष्णुमूर्ति रहेको अभिलेख उल्लेख गरिएको छ। पुस्तकमा लेखिएको छ “अशुंवर्माको समयतिरको लिपिमा लेखिएको अभिलेखमा वैष्णवधर्मको प्रचार गरिएको संकेत पाइन्छ।” 

लिच्छविकालीन बस्ती नक्सालमा पुरातात्त्विक महत्वका सम्पदाहरू रहेको यो अभिलेखले देखाउँछ। नक्सालसमेत पर्ने काठमाडौँ महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्छन्, “यहाँ पुरातात्त्विक महत्वका विभिन्न सांस्कृतिक सम्पदा छन्। लिच्छविकालीन राजा मानदेवको पालाको शंकरकीर्ति बिहार छ, तीन सय वर्ष पुरानो नन्दीकेशर मन्दिर छ। कतिपय घर नै सात सय वर्ष पुराना छन्।”

जब संघीय सरकारको बजेटअन्तर्गत संघकै निकायका रूपमा रहेको काठमाडौँ उपत्यका विकास प्राधिकरण मातहतको काठमाडौँ जिल्ला आयुक्तको कार्यालयले यही ठाउँ नक्सालमा जीर्ण रहेको सडक भत्काएर त्यसमाथि ढुंगा छाप्नलाई प्रक्रिया अघि बढायो, नक्सालको यही पुरातात्त्विक महत्वबारे बहस चर्कियो। प्राधिकरणको काठमाडौँ जिल्ला आयुक्तको कार्यालयले २०७९ फागुनमा यो सडक निर्माणका लागि सानु सुवाल निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार प्रालिले २०८१ पुस मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने थियो।

सम्झौता बमोजिम काम अगाडि बढाउने सुरसार भइरहँदा कतिपय स्थानीय यो ठाउँमा ढुंगा बिछ्याउन नहुने, बरु कालोपत्रे गर्नुपर्ने अडानमा देखिए। त्यस्तो अडान राख्नेहरू त्यहाँ व्यापार–व्यवसाय गरिरहेका स्थानीय धेरै थिए। किनभने ढुंगा बिछ्याइएको सडकमा ठूला गाडी र मालवाहक ट्रक ओहोरदोहोर गराउन मिल्दैनथ्यो। 

उनीहरूले यस्तो अडान राखिरहँदा सम्पदाप्रेमी स्थानीयले भने कालोपत्रे होइन, बरु सम्पदा पदमार्गका रूपमा विकास गरेर चार पाङ्ग्रे सवारी साधन नै प्रवेश निषेध गर्नुपर्ने आवाज उठाए। यसै त सवारी साधनको चाप बाक्लो रहेको नक्साल क्षेत्रमा प्रवेश निषेध गर्दा उत्पन्न हुने समस्या, त्यो भन्दा अझ धेरै समस्या त कालोपत्रे गर्दा पालना गर्नुपर्ने मापदण्डले निम्त्याउने देखियो। किनभने कालोपत्रे सडकको मापदण्ड पालना गर्दा मुख्य सडकको मध्य भागबाट दुबैतर्फ सात–सात मिटर जमिन छाड्नुपर्ने हुन्थ्यो। त्यसो हुँदा नक्सालको यो सडकका दुवैतर्फका अधिकांश घर नै भत्काउनुपर्ने अवस्था देखियो। 

सम्पदा जोगाउन र पर्यटकीय गतिविधि बढाउन भन्दै शुर गरिएको सडकको स्तरोन्नति–मर्मतका क्रममा सम्पदाका रूपमा रहेका सयौँ वर्ष पुराना घर भत्काउनुपर्ने, अनि आफ्नै उठिबास लाग्नुपर्ने अवस्था आइलाग्ने भयो। “खासमा स्थानीय बासिन्दाको बुझाइमा कमी देखियो, उहाँहरूले यथार्थ कुरा बुझ्नु भएन,” वडाध्यक्ष श्रेष्ठले भने, “उहाँहरूलाई सबैलाई कुरा बुझाउन समय लाग्यो, त्यही भएर सडक अस्तव्यस्त रह्यो। अब कुरा बुझ्नु भएको छ। काम पनि अघि बढेको छ।”

भेटिएको समाधान, यस्तो बन्दै छ सडक
नक्सालको यही अस्तव्यस्त सडकमा अहिले ढुंगा बिछ्याउने काम भइरहेको छ। र यो काम काठमाडौँ उपत्यका विकास प्राधिकरण मातहतको काठमाडौँ जिल्ला आयुक्तको कार्यालयसँगको सम्झौता अनुसार सानु सुवाल निर्माण सेवा प्रालिले गरिरहेको छ। कार्यालयका अनुसार भगवतीबहालदेखि नारायणचौरसम्मको ४१० मिटर र कमलपोखरीबाट सिंह दोबाटो जाने ४२२ मिटर लामो सडकमा ढुंगा बिछ्याउने काम हुँदैछ।

प्राधिकरणले चार करोड ५१ लाख ६५ हजार ७०६ रुपैयाँ लागतमा निर्माण गरिरहेको यो सडक खासमा ‘हेरिटेज वाक वे’ अर्थात् सम्पदा पदमार्गका रूपमा निर्माण गरिँदैछ। तर यसमा चार पाङ्ग्रे सवारी साधनलाई पनि प्रवेश दिइने आयुक्त कार्यालयका सब–इन्जिनियर रोशन चौधरी बताउँछन्। “पहिले केही स्थानीयले यसलाई पैदलमार्ग मात्र बनाउनुपर्छ भन्नुभएको थियो, त्यसले यहाँका स्थानीयको व्यापार–व्यवसायमा असर पर्ने भएकाले अब सवारी साधनमा पनि रोक लगाइने छैन,” उनले भने। 

सडक निर्माणका लागि भएको ठेक्का सम्झौताको म्याद गत पुसमा सकिँदा ढुंगा बिछ्याउने काम भर्खर शुरू मात्र भएको थियो। विवादका कारण खानेपानीको पाइप र ढल राख्ने तथा बिजुलीका तारलाई भूमिगत गर्ने काममा पनि ढिलाइ भयो। वडा कार्यालयले ती कामका लागि सम्बन्धित निकायसँग समन्वय गरिदिएपछि सडक निर्माणको काम अघि बढेको, अहिले करिब ५० प्रतिशत काम सकिएको चौधरीले बताए। 

सडकको काम ६ महिना भित्र सक्ने दाबी ठेकेदार कम्पनीले गरिरहेको छ। कम्पनीका परियोजना प्रबन्धक पर्शुराम वैद्यले अब थप समस्या उत्पन्न नभए ६ महिनाभित्र सम्पूर्ण काम सकिने उल्लेख गर्दै भने, “सरासर काम गर्न पाए त्यो भन्दा चाँडै सकिन्छ। बीचमा समस्या आयो भने चाहिँ यसै भन्न सकिन्न।” 

नक्सालको सडकलाई ‘हेरिटेज वाक वे’ बनाएर पर्यटकको आकर्षण बढाउने, यो क्षेत्रमा रहेका सम्पदाबाट लाभ लिँदै व्यापार–व्यवसायमा समेत सहयोग पुग्ने अपेक्षा छ। लामो समय निर्माणको काम लथालिंग हुँदा सडक अस्तव्यस्त बनेको, त्यसले व्यवसायमा असर परेको बताउने स्थानीय व्यापारी भने अहिले पनि छिटो काम नभइरहेको बताउँछन्। स्थानीय व्यापारी कुमार मानन्धरले भने, “आर्थिक मन्दीबीच सडक पनि अस्तव्यस्त हुँदा व्यापार आधै घट्यो। निर्माणको काम गर्दा ढिलासुस्ती भयो। हामी विकासविरोधी होइनौँ, तर कहिले ढल खन्ने त कहिले कालोपत्रे उप्काउने नाममा सवारी आवागमन रोकिन्छ। बरु सरासर काम गरेर छिटो सक्नुपर्‍यो।” 

पूर्ववडाअध्यक्ष समेत रहेका स्थानीय व्यापारी किरण श्रेष्ठ निर्माणको काम अहिले पनि द्रुत गतिमा हुन नसकेको बताउँछन्। “पहिले यसै ढिलो भयो, सहमतिपछि पनि काम त्यति छिटो छैन। जनशक्ति पनि कम छ,” उनले भने। 

श्रेष्ठका अनुसार ढुंगा बिछ्याइएका ठाउँमा पनि आकार नमिलाई जथाभाबी बिछ्याइएको भनेर स्थानीयबाट गुनासो आउन थालेको छ। “छापिसकेको ढुंगा पनि निकाल्ने तयारी भइरहेको सुन्छौँ, यस्तो त गर्नुभएन,” उनले भने।

नक्साल भगवती चोकतर्फ बिछ्याइएका ढुंगाको आकार स्पष्ट र मिलेको देखिए पनि नक्साल क्षेत्रतर्फ भने त्यस्तो छैन। कम्पनीका प्रबन्धक वैद्यका अनुसार काठमाडौँ जिल्ला आयुक्तको कार्यालयले ढुंगाको आकार नमिलेको भन्दै त्यसलाई आकार दिनुपर्ने बताएको छ। “पहिले इन्जिनियरहरूले त्यही हुन्छ भनेर पास गरेकोमा अहिले नयाँ आयुक्त आएपछि भने फरक गर्नुपर्ने बताउनुभयो। अहिले त्यहीअनुसार काम भइरहेको छ,” उनले भने।