काँचमा कसरी परिणत भयो मानव मस्तिष्क?

पृथ्वीमा यस्तो घटना पहिले कहिल्यै भएको थिएन। वैज्ञानिकहरू यो एक अनौठो खोज भएको विश्वास गर्छन्।

मस्तिष्कमा भेटिएको काँचको टुक्रा

काठमाडाै– वैज्ञानिकले काँचको मानव मस्तिष्क भेटाए भन्दा कसैलाई विश्वास नलाग्न सक्छ। प्रश्न उठ्छ –मान्छेको होस् या अन्य कुनै प्राणीको कतै मस्तिष्क पनि काँचको हुन्छ?

सन् १९६० को दशकमा वैज्ञानिकहरूले उत्खननका क्रममा मानव अवशेष भेटाएका थिए। उनीहरूले त्यो अवशेषको खप्परमा काँचका केही टुक्राहरू फेला पारे। अहिले वैज्ञानिकहरूले ती टुक्रा अरु केही नभएर त्यही व्यक्तिको मस्तिष्क भएको दाबी गरेका छन्। जसको दुई हजार वर्षपहिले ज्वालामुखी विस्फोटमा मृत्यु भएको थियो।

इटालीमा पहिले पोम्पेई र हर्कुलिनियम नाम गरेका शहर थिए। सन् ७९ मा माउन्ट भेसुभियस ज्वालामुखी विस्फोटका कारण खरानी, ढुंगा र ग्यासको मिश्रण १०० माइल प्रतिघण्टाको गतिमा यी शहरतिर सर्न थाल्यो र केही समयमै सम्पूर्ण शहर तातो लाभामा दबियो। हजारौँ मानिसहरू मारिए। त्यसपछि, शताब्दीयौंसम्म कसैले पनि ती शहरको हेरचाह गरेनन्।

 इटालीको हर्कुलेनियमको प्राचीन पुरातात्विक स्थलको दृश्य। 

सन् १७४८ मा पहिलो पटक केही युवा पर्यटकहरू हर्कुलिनियम शहरमा पुगे र ढुंगाका मूर्तिहरू देखेर छक्क परे। वास्तवमा यी ढुंगाका मूर्ति नभई तिनै मान्छेहरू थिए जो तातो लाभाको कारण ढुंगामा परिणत भएका थिए।

सन् १९६० को दशकमा उत्खननको क्रममा हर्कुलिनियम शहरमा एक व्यक्तिको अवशेष भेटिएको थियो। बीबीसीको रिपोर्टअनुसार वैज्ञानिकहरूले उनको खप्परबाट काँचका केही टुक्राहरू फेला पारेका छन्। वैज्ञानिकहरू विश्वास गर्छन् कि ५१० डिग्री सेल्सियस तापक्रम भएको खरानीको बादलले मस्तिष्कलाई घेरेको थियो, त्यसपछि धेरै छिटो चिसो भयो। जसका कारण दिमाग सिसामा परिणत भयो।

रिपोर्टका अनुसार वैज्ञानिकहरूले सन् २०२० मा यी केराउको दाना आकारका टुक्राहरू पत्ता लगाएका थिए। यी काँचका टुक्राहरूको आकार १-२ सेन्टिमिटरदेखि केही मिलिमिटरसम्म हुन्छ। वैज्ञानिकहरू भन्छन् कि कुनै पदार्थ सिसामा परिणत हुनको लागि, त्यो पदार्थ र यसको वरपरको वातावरण बीचको तापक्रममा ठूलो भिन्नता हुनुपर्छ र यो प्राकृतिक रूपमा विरलै हुन्छ। मानिसको मस्तिष्क सिसामा रूपान्तरण 'भिट्रिफिकेसन' (पदार्थलाई सिसामा परिणत गर्ने प्रक्रिया)मार्फत भएको हुनसक्ने उनीहरूको भनाइ छ। अर्थात्, पहिले मस्तिष्कको जैविक पदार्थ उच्च तापक्रम (कम्तीमा ५१० डिग्री सेल्सियस)को सम्पर्कमा आयो र त्यसपछि यो द्रुत गतिमा चिसो भयो।

पृथ्वीमा यस्तो घटना पहिले कहिल्यै भएको थिएन। वैज्ञानिकहरू यो एक अनौठो खोज भएको विश्वास गर्छन्।