चैत तेस्रो सातादेखि पोखरा–ल्हासा नियमित उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको छ।

काठमाडौँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान शुरू गर्न लागेको छ। हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो।

काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्ने गरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ। पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्ने गरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्ने गरी उडान अनुमति मागेको छ। ल्हासा उडान प्रक्रिया अन्तिम चरणमा छ।

त्यसैगरी, चीनको सिचुवान एयरलाइन्सले आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक  उडान गर्ने तयारी गरेको छ। यद्यपि, क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन। पोखरा–छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलाइन्सले जनाएको छ। सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जीएसए) सोसाइटी इन्टरनेसनल रहेको छ।

क्यानका सूचना अधिकारी भूलले यो उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित उडान भएको  सन्देश जाने विश्वास व्यक्त गरे।

नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच हवाई सम्पर्क सञ्जाल विस्तार गर्न लागिएको हो। योसँगै नेपालमा चिनिया पर्यटक बढ्ने विश्वास लिइएको छ । हिमालय एयरलाइन्सले हाल काठमाडौँबाट ल्हासा एक सातामा पाँच उडान गरिरहेको छ । पोखराबाट पनि ल्हासामा थप एक उडान गर्न लागेको हो।

“हिमालय एयरलाइन्सले चैत १८ देखि उडान गर्ने गरी उडान अनुमति मागेको छ, अनुमतिको प्रक्रियामै छ”, क्यानका सूचना अधिकारी भूलले भने, “काठमाडौँ–ल्हासा पोखरा र पोखरा–ल्हासा काठमाडौँ उडान गर्ने गरी अनुमतिको प्रक्रियामा छ।”

उनका अनुसार हिमालय एयरलाइन्सको जहाज सोमबार ल्हासाबाट पोखरा आउनेछ र मंगलबार पोखराबाट ल्हासा जाने गरी सातामा एक उडान अनुमति मागेको छ। मागअनुरूप भविष्यमा उडान थप्न सकिने क्यानले जनाएको छ। सिचुवान एयरलाइन्सको उडान मिति भने तय भइनसकेको उनले बताए। सिचुवान एयरलाइन्सले पोखराबाट काठमाडौँ परीक्षण उडान गरिसकेको छ।

पोखराबाट चीनका विभिन्न गन्तव्यमा सिधा उडान हुने भएपछि व्यवसायी उत्साहित भएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले पोखराबाट चीनका विभिन्न सहरमा हुन गइरहेका सिधा उडानले व्यवसायी उत्साहित भएको बताए। “पोखरा विमानस्थल निर्माण भएको दुई वर्षपछि पहिलोपटक नियमित व्यावसायिक उडान हुँदैछ। यसले पोखरेली जनतालाई उत्साहित तुल्याएको छ”, उनले भने।

पोखरा पर्यटन परिषद्ले आगामी चैत ५ गते पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेजसमेत बनाएको जनाएको छ। छेन्दुबाट पनि व्यवसायी आउने र पोखराबाट पर्यटन व्यवसायी गएर छेन्दुमा बिजनेस टू बिजनेस (बीटुबी) कार्यक्रम गर्ने तयारी गरिएको अध्यक्ष पहरीले जानकारी दिए।

एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले पोखराबाट छेन्दु उडान शुरू भएसँगै सुस्त ग्रीष्मकालीन याममा पनि पर्यटक बढ्ने अपेक्षा गरिएको बताए। उनले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ शुरू गरिएको यस उडानले एयरलाइन्सको दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो। हालसम्म विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान भएको पोखरा विमानस्थलका प्रवक्ता जशोधा सुवेदीले जानकारी दिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो।