कडा लक्षणको मौसमी ‘फ्लु’ देखिँदै

मौसमी ‘फ्लु’का कारण जटिलता निम्तिएको खण्डमा निमोनिया, मुटुको चालमा गडबडी, रगतमा संक्रमणसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।

फाइल तस्वीर

काठमाडौँ– वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो। दुई हप्ता घरमै आराम गरेर निको भए पनि उनलाई हल्का खोकी अझै लागिरहेको छ।

भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लु (इन्फ्लुएन्जा) कडा महसुस गरिन्। उनले लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपरेको सुनाइन्। “खोकी एकदमै लामो समयसम्म लागिरहेको छ। एक हप्ता टाउको उठाउनै सकिनँ। जीउ आलस्य र एकदमै कमजोर भएको छ”, खड्काले भनिन्।

उनीहरू मात्रै होइन यस पटक धेरैजसोले यस्तै समस्याको सामना गर्नुपरेको गुनासो गरिरहेका छन्। छाती तथा दम रोग विशेषज्ञ डा नवीनकुमार मिश्राले पनि फ्लु लाग्ने सिजन सकिसक्दा पनि लामो लक्षणसहितको फ्लु देखा परिरहेको बताए। सामान्यतयाः नेपालमा जनवरी–मार्च महिना र जुलाई–सेप्टेम्बर महिनामा फ्लु बढी देखिने भए पनि यसपटक निकै लम्बिएको उनले सुनाए। 

डा. मिश्राका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा आफैँ हराएर जाने तर केहीलाई भने जटिल समस्या निम्त्याउन सक्छ। मौसम परिवर्तन भएसँगै फ्लुका बिरामी देखिन थालेका छन्। धेरैमा कडा लक्षण देखिएको छ।

विशेष गरी लामो समयसम्म खोकी लाग्ने समस्या देखिएको छ। यसमा अचानक ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, अस्वस्थ्य महसुस हुनु, घाँटी दुख्नु, नाक बग्नु आदि लक्षण देखा पर्न सक्छन्। फ्लुमा खोकी गम्भीर हुनसक्छ र दुई हप्ता वा सोभन्दा बढी पनि रहन सक्छ।

यसले श्वासप्रश्वास प्रणालीमा संक्रमण गराउने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको संक्रमण)सँगै अन्य संक्रमणको खतरासमेत हुने सम्भावना संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक उनले हाल धेरैले लामो समयसम्म खोकी लागिराख्ने समस्या लिएर आउने बिरामी बढिरहेको बताए।

पुनले भने, “फ्लुले धेरै लामो समयसम्म दुःख दिने गर्छ। सामान्यतयाः हप्ता वा १० दिनसम्म निको हुने फ्लु हाल थप केही हप्तासम्म लम्बिएको देखिन्छ। हप्तौँसम्म लम्बिने खोकीलाई ‘पोस्ट भाइरल कफ’ भनिन्छ।”

उनले कोभिडमा देखिएको गन्ध र स्वाद थाहा नपाउने लक्षण यो फ्लुमा पनि देखिएको भन्दै कोभिडका ‘सब–भेरियन्ट’ पनि हुनसक्ने आकलन गर्न सकिने बताए। संक्रामक रोग विशेषज्ञ डा. पुनले मौसम परिवर्तन र वायु प्रदूषणले पनि फ्लुको जोखिम बढाएको बताए।

“हाल हङकङ फ्लु देखिएको छ। बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी बढी जोखिममा हुन्छन्। चिकित्सकको परामर्शमा रहने र गम्भीर अवस्था देखिएमा निमोनिया हुनसक्ने भएकाले थप सतर्कता अपनाउन आवश्यक छ”, उनले भने, “मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सङ्क्रमित व्यक्तिबाट सजग रहने, संक्रमण देखिएमा पर्याप्त मात्रामा आराम गर्ने गर्नुपर्दछ। फ्लुविरुद्ध खोप लगाउनु राम्रो हुन्छ।”

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारीमा भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन्।

डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका कारण ३० लाखदेखि ५० लाख ‘केस’ पहिचान हुने गरेका छन्। तीमध्ये दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासमा जटिलता आएर मृत्यु हुने तथ्यांकले देखाउँछन्। 

खोपले शतप्रतिशत सुरक्षा नदिए पनि जटिलता र अस्पताल भर्ना हुनबाट जोगाउन सहयोग गर्छ। चिकित्सकहरूका अनुसार इन्फ्लुएन्जाका लक्षण सामान्यतया भाइरस भएको व्यक्तिबाट संक्रमित भएको दुई दिनपछि शुरू हुन्छ। उच्च जोखिममा रहेका व्यक्तिमा गम्भीर समस्या, अस्पताल भर्ना र मृत्युसमेत हुनसक्छ।

काठमाडौँ मेडिकल कलेज श्वासप्रश्वास रोग विभागीय प्रमुखसमेत रहेका डा मिश्राले दम भएका बिरामी, पाँच वर्षमुनिका बालबच्चा र ६० वर्ष माथिका व्यक्ति, रोगसँग लड्नसक्ने क्षमता कम भएकाहरूमा फ्लुको जोखिम रहने बताए।

“लक्षण बिग्रिँदै गइरहेको छ, अक्सिजनमा कमी आएको छ भने तत्काल चिकित्सकलाई भेट्नुपर्छ। लक्षण सामान्य देखिएका छन् भने आराम गरेर निको हुन्छ। आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त खाने गर्नुपर्छ। धेरैजसो आफैँ हराएर जान्छ,” उनले भने। 

जटिलता निम्तिएको खण्डमा निमोनिया, मुटुको चालमा गडबडी, रगतमा संक्रमणसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।