पाल्पाका २ सामुदायिक वनमा डढेलो

रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ।

पाल्पा– रिब्दीकोट गाउँपालिका– १, ख्याहाको मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ।

मंगलबार अपराह्नदेखि लागेको आगो निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका–१ का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए। 

डढेलो नियन्त्रणमा नआउँदा ख्याहाको गैरीगाउँ र देउरालीको डम्बक, लघुवा गाउँ जोखिममा रहेको उनले जानकारी दिए।  

सल्लाको जंगल भएकाले डढेलोले उग्र रूप लिएको छ। डढेलो नियन्त्रणका लागि तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा र जनप्रतिनिधि खटिएका छन्। 

डढेलो दुई वटा सामुदायिक वनको करिब १० हेक्टर क्षेत्रमा फैलिएको डिभिजन वन कार्यालयले जनाएको छ।