आजका स्मार्ट शहर, भोलिका ग्याँस च्याम्बर, पर्सिका भुंग्रो

उच्च जनघनत्व भएका दक्षिण एशियाजस्ता क्षेत्रमा कत्रो विग्रह र द्वन्द्व सिर्जना हुनेछ भन्ने हामी अहिले कल्पना पनि गर्न सक्दैनौँ, किनकि मानव जातिले अहिलेसम्म त्यो तहको विपत्ति देखेकै छैन।  

पोखराभरी चौतारीका र अन्यत्रका पनि बर, पिपल, समी र आँपका रुखहरू कोटीहोमका लागि भन्दै काटिएको विषय केही समय चर्चामा रह्यो। आफ्नो सनातनी चरित्रअनुसार हामी नेपालीहरू लगत्तै अर्को विषयमा लाग्यौं।  दोषीहरूलाई जबाफदेही नबनाई यो विषय सामसुम पनि भयो। 

झनै चिन्ता लाग्ने कुरा चाहिँ के भने तर यो प्रवृत्ति पोखरामा मात्र सीमित छैन। देशैभर, गाउँदेखि शहरसम्म, टोलदेखि महानगरपालिकासम्मको निर्णयबाट धमाधम पचासौं वा सयौं वर्ष पुराना रुखहरू ढलाइँदै छन्। कतैकतै तिनका ठाउँमा झारा टार्न नयाँ बिरुवा सारिएको छ, धेरै ठाउँमा हरियाली र चौतारी मासेर बत्तीका पोल वा अरू कुनै कंक्रिटका संरचना बनाइँदै छ, विकासका नाममा।

त्यस्तो विकासको राजधानी मान्न सकिन्छ चितवनको भरतपुरलाई। हाल यत्रतत्र देखिने पोखराका चौतारीका जस्ता ठुटाहरू भरतपुरमा चोकैपिच्छे जस्तो देख्न पाइन्छ। कति त मन्दिर परिसरकै चौतारीका रुख त्यसैगरी ठुट्याइएका छन्। कति पीपलका ठुटामा अहिले पनि मानिसले धागो बेरेर पूजा गरेको देख्न पाइन्छ तर ती रुखहरू मासिएकोमा दुख मनाउ गर्ने वा मास्ने कामको विरोध गर्ने मानिस पाउन कठिन छ। (भरतपुरको विकासबारे पङ्क्तिकारले बनाएको यो भिडियो  हेर्नुहोस्।)

मानिसको चेतना मरेको होला कि संवेदना, कि दुवै?

यो लेख र माथिको भिडियोमा भन्न खोजेको के हो भने यहाँ मुद्दा केही हजार रुख वा केही वर्ग किलोमिटर वन बच्ने वा नबच्ने भन्ने हैन, नेपाललगायत दक्षिण एसियाका अरबौं मानिसका लागि यो क्षेत्र बाँच्न लायक रहने कि नभन्ने हो। अर्थात् यहाँ एउटा पीपलको रुखको जीवन मात्रै दाउमा छैन, हाडमासुले बनेका मानिसहरूको, तपाईं हामी सबैको ज्यान दाउमा छ। त्यसैले कसैले चौतारीमा शीतल बस्न पाउने वा नपाउने, अरू कसैले बिहानै उठेर पीपलको रुखलाई पूजा गर्न पाउने वा नपाउने भन्दा यो विषय धेरै गहिरो छ।

अन्ततः यो विषय मानव जातिले पृथ्वीमा अरू प्रजातिहरूसित सहअस्तित्व राखेर बाँच्ने वा पहिले अरूलाई सिद्ध्याएर अनि आफू पनि सिद्धिने भन्नेसम्म पुग्छ।

पछिल्ला केही वर्षमा पृथ्वीको जलवायुले अनपेक्षित परिवर्तनहरू देखाइरहेको छ। पृथ्वीमा मानिसका कारणले कार्बनडाइअक्साइडलगायत हरित गृह ग्याँस बढेसँगै यहाँको तापक्रम बढ्दै जानेछ भनेर वैज्ञानिकहरूले भनेको लामो समय भइसक्यो। तर सन् १९००–२००० बीचको सय वर्षमा जम्मा ०.२ डिग्री सेल्सियसले तातेको पृथ्वी सन् २००० यताका २४ वर्षमा थप १.३ डिग्रीले तातेपछि अहिले जलवायु वैज्ञानिकहरू अत्तालिएका छन्। 

यो आँकडा अनुसार २० औं शताब्दीका सय वर्षमा भन्दा २१ औं शताब्दीका २४ वर्षमा पृथ्वी झन्डै सात गुणा बढी मात्राले तातिसकेको छ।

सन् २०२० मा प्रकाशित एउटा वैज्ञानिक आलेखअनुसार यस्तै रफ्तारमा पृथ्वी तात्ने हो भने सन् २०७० सम्म पृथ्वीको उत्तरी गोलार्द्धको ठूलो भूभागमा तापक्रम हाल सहारा मरुभूमिको मध्य भागजस्तै अर्थात् २९ डिग्री सेल्सियसभन्दा बढी हुनेछ।

अहिलेकै गतिमा कार्बन उत्सर्जन र प्रदूषण हुने हो भने सन् २०७० सम्ममा आउने परिवर्तन।

अहिले यो तस्वीरमा गाढा कालो पोतिएको सहारा मरुभूमिको सानो ठाउँमा मात्र वार्षिक औसत तापक्रम २९ डिग्री सेल्सियसभन्दा बढी हुन्छ। तर सन् २०७० मा खैरो किरमिर गरिएको सबै क्षेत्रमा, जहाँ झन्डै सिंगो भारतसमेत पर्छ, औसत तापक्रम त्यसभन्दा बढी हुनेछ अर्थात् सहारा मरुभूमिको सबैभन्दा तातो ठाउँको जस्तै जलवायु हुनेछ। अहिलेकै हिसाबले सन् २०७० मा त्यो भूभागमा साढे तीन अर्ब मानिस बसेका हुनेछन्। स्रोत-२०२० मा विख्यात जर्नल प्रोसिडिङ्स अफ द नेसनल एकेडमी अफ साइन्सेसमा प्रकाशित यो आलेख।

त्यो मिति अगावै त्यो ठाउँमा बस्ने साढे तीन अर्ब मानिस विस्थापित भइसक्नेछन्। त्यस क्रममा उच्च जनघनत्व भएका दक्षिण एशियाजस्ता क्षेत्रहरूमा कत्रो विग्रह र द्वन्द्व सिर्जना हुनेछ भन्ने हामी अहिले कल्पना पनि गर्न सक्दैनौं, किनकि मानव जातिले अहिलेसम्म त्यो तहको विपत्ति देखेकै छैन।  

यस अघि लाखौँको विस्थापन र आप्रवासनसँगै युरोपजस्तो सिंगो महादेशको राजनीति उलटपुलट गर्न र फरक नस्लका मानिसहरू लखेट्नुपर्छ भन्नेहरूलाई सत्तामा पुर्‍याउन काफी थियो भने अब अरबको विस्थापनले संसारलाई चिन्नै नसक्ने गरी फेरिदिनेछ। त्यो अवस्थामा द्वन्द्वहरूमा हताहत हुनेहरूको संख्या नै करोडमा गन्नुपर्ने स्थिति आउन सक्नेछ। 

सन् २०२० पछिका चार वर्षमा तापक्रमले जसरी नयाँ रेकर्डहरू राखिरहेको छ, त्यस हिसाबले त्यही सन् २०७० को मिति पनि अझै अगाडि सर्‍यो भने अनौठो नमाने हुनेछ।

यो पनि: प्रदूषणको उकुसमुकुस : भागेर जाऊँ, कुन ठाउँ जाऊँ…

संयुक्त राष्ट्र संघका अनुसार अहिले नै संसारभर ५५ प्रतिशत अर्थात् चार अर्बभन्दा बढी मानिसहरू शहरमा बस्छन्। सन् २०५० मा त्यो संख्या झन्डै १० अर्बको ६८ प्रतिशत अर्थात् साढे ६ अर्ब हाराहारी  पुग्ने प्रक्षेपण छ।

तिनै शहरहरूमध्ये एशिया र अफ्रिकाका धेरै शहरहरू अहिले नै आधा वर्षभन्दा लामो समयसम्म ग्यास च्याम्बरजस्तै बनिसकेका छन्। धुवाँ र धुलोले मानिसका फोक्सो र शहरको वायुमण्डललाई एकै नासले छपक्क छोपेका छन्। क्यान्सरलगायत समस्याको ग्राफ उकालो लाग्दो छ।

यस्तो अवस्थामा शहरका खाली ठाउँ जति ढलानले पुर्ने अनि बचेखुचेका रुखहरू सिद्ध्याउने कामले यी शहरहरूलाई बिस्तारै ग्याँस च्याम्बरबाट आगोको भूंग्रोजस्तै बनाउने निश्चित छ। केही वर्ष अगाडि ताप लहरका बेला स्पेनका केही ठाउँमा जमिनको तापक्रम ६० डिग्रीसम्म पुगेको थियो। अबका वर्षहरूमा यस्ता रेकर्ड एकपछि अर्को तोडिने निश्चित छ।

भरतपुरबारे बनाइएको भिडियो हेरेपछि सन् २०१४ मा नेपालका नदीहरूको गहिरो अध्ययनको नेतृत्व गरेका अजय दीक्षितको टिप्पणी यस्तो थियो: गंगा र सिन्धु नदीको अध्ययनले देखाए अनुसार हामी अब महाखडेरीको संघारमा छौँ, जसमा नेपालको तराइ र नदी उपत्यकाहरू ‘फ्राइ’ हुने (भुटिने) छन्। 

त्यसैले नेपालमा टोल विकास संस्थादेखि सिंहदरबारसम्म जति पनि व्यक्ति, दल र संस्थाहरू नेतृत्वमा छन्, ती सबैले यो कुरा मनन गर्नु जरुरी छ। आजै विभिन्न तहका सरकारहरूको नेतृत्वमा हुने र भोलि जान चाहने राजनीतिज्ञहरूका सामु त पृथ्वीमा तीव्र गतिमा आइरहेको उलटफेरलाई बुझेर त्यसको आलोकमा नीति निर्माण र कार्यान्वयन गर्नुको विकल्प छैन।