घर न घाटको हुने गल्ती गर्दैनौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनका पार्टी र नेताहरूमा अहङ्कार बढे र उनीहरूलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न तयार रहेको बताएका छन्।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने भन्नु अलमल्याउने कुरा मात्रै भएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताए।

अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताए। "कसैले वामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, अलमल्याउने कुरा मात्रै हो। यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौँ। भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ" उनले भने।

अध्यक्ष नेपालले आगामी सरकार गठबन्धनकै बन्ने आस गरेको बताए। उनले गठबन्धनका पार्टी र अरू नेताहरूमा अहङ्कार बढे र उनीहरूलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न तयार रहेको स्पष्ट पारे।

उनले वर्तमान राजनीतिमा व्यापक रूपमा व्यक्तिवाद हाबी भएको बताए। उनले आफूले पाएपछि सबै ठीक नपाए सबै बेठीक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको सुनाए।

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताए। भ्रष्टीकरण विरुद्धमा आफ्नो पार्टीभित्र शुद्धीकरणको अभियान, सुदृढीकरण, रूपान्तरणको अभियान चलाउनुपर्ने बताए।

उनले मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै भ्रष्टाचार गर्ने कोही पनि नेतालाई पार्टीले छुट नदिने बताए। उनले अहिले गठबन्धनकै भरमा चुनाव लडेको भन्दै सिट विभाजनमा आफ्नै गुनासा भए पनि निर्वाचनको आवश्यक समीक्षा गर्न आवश्यक रहेको बताए।