हिमपातले मुस्ताङका किसानमा खुशीयाली, उत्पादन बढ्ने अपेक्षा

स्याउलगायत रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले बालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ।

मुस्ताङ– मुस्ताङमा स्याउलगायत रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ। स्याउलगायत रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले बालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको हो।

लगातार दुई वर्षसम्म हिउँ नपर्दा चिन्तित किसान केही दिनअघिको वर्षा र हिमपातले खुशी भएका छन्। आंशिक वर्षासँगै हिउँ परेकाले स्याउ, उवा, फापर, जौ र आलु बालीमा प्रशस्त चिस्यान पुगेकाले यहाँ किसान हर्षित भएका छन्। 

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार स्याउलगायत रैथाने अन्नबालीको बगैँचा व्यवस्थापन, रोगकीरा नियन्त्रण र अनुकूल समयमा वर्षासँगै हिमपात भएकाले गत वर्षजस्तै यस वर्ष पनि स्याउ तथा अन्य रैथाने बालीको गुणस्तर र उत्पादन राम्रो हुने अनुमान गरिएको छ। वर्षासँगैको हिउँले खेतीयोग्य जमिनलाई चाहिने चिस्यान पूर्ति भएकाले यस वर्ष बालीको उत्पादन वृद्धि हुने केन्द्र प्रमुख गुरुङले दाबी गरे।

कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको विभिन्न स्थानमा पुगेर गरेको स्याउलगायत रैथाने बालीहरूको स्थलगत सर्वेक्षणमा कृषकले स्याउलगायत अन्नबालीको बगैँचा व्यवस्थापन राम्रो गरेको निष्कर्ष निकालेको छ। 

जिल्लामा गत वर्ष स्याउको उत्पादन राम्रो भएको भए पनि जलवायु परिवर्तनका कारण स्याउको परागसेचन हुने बेलामा हुस्सु र वर्षाले गर्दा स्याउको फूल फुल्ने समयमा प्रतिकूल असर पुगेको थियो। यसका कारण त्यस वर्ष जिल्लामा स्याउको उत्पादन तथा गुणस्तरमा ह्रास आएको थियो। जिल्लाको आर्थिक समृद्धिको मेरुदण्ड स्याउखेती भएकाले यहाँका किसानले स्याउखेतीलाई मुख्य प्राथमिकतामा राखेका छन्। यसका साथै, रैथाने बाली उवा, फापर, जौ र लोकल आलु जिल्लाका कृषि उत्पादनमा पहिचान बनेको छ। 

जिल्लामा पुस र माघ, महिनामा स्याउको बगैँचा व्यवस्थापन गरिन्छ। स्याउखेतीका लागि अनधिकृत हाँगाबिँगाको काँटछाँट, गोडमेल, मलजल, औषधिको प्रयोग र खेतीयोग्य जमिनका सिँचाइको व्यवस्था गर्ने गरिन्छ। स्याउका अलावा असोज र कात्तिक महिनामा उवा, फापर, जौ र आलुलगायतका बाली लगाएर त्यसको सम्पूर्ण खेती बगैँचाको व्यवस्थापन गर्ने गर्छन्। उपल्लो मुस्ताङमा भने कृषकले फागुनदेखि उवा, जौ, गहुँ र फापरलगायतका अन्नबाली लगाउने गर्छन्।

पछिल्लो समय जिल्लाका कृषकलाई स्थानीय जातका स्याउखेतीसँगै नयाँ बगैँचामा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेती गर्दै आएका छन्। दोस्रो वर्षमै थोरै क्षेत्रफलमा धेरै उत्पादन दिन सक्ने भएकाले मुस्ताङका कृषक हाइब्रिड स्याउखेतीतर्फ आकर्षित हुन थालेका हुन्। 

मुस्ताङको पाँचवटै स्थानीय तहमा स्याउखेती गरिएको छ। राष्ट्रिय गौरवको सडक सञ्जालले यातायात सहज हुन थालेपछि जिल्लाका कृषकले उत्पादन गरेको स्याउलगायतका अन्नबालीको बजारीकरणमा सहज भएको छ। जिल्लामा गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा ८३ करोड रुपैयाँको स्याउ निकासी भएको थियो।