सिरहाको ‘सामूहिक बलात्कार’ घटनाका मुख्य आरोपी रूपेश मण्डल पक्राउ

सिरहाको नवराजपुरकी १७ वर्षीया रिंकु सदा माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

काठमाडौँ– सिरहाको नवराजपुर गाउँपालिकास्थित भगवतीपुरकी रिंकु सदा बलात्कार घटनाको मुख्य आरोपी रूपेश मण्डल पक्राउ परेका छन्। उनलाई बुधबार बिहान साढे ११ बजे पक्राउ गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए।

पण्डितका अनुसार मण्डल आज नेपाल–भारत सीमाबाट पक्राउ परेका हुन्। “बाँकीको पनि खोजी कार्य चलिरहेको छ,” पण्डित भन्छन्, “मुख्य मान्छे नै पक्राउ परेपछि अब चाँडै बाँकीलाई पनि नियन्त्रणमा लिन्छौँ।”

१७ वर्षीया रिंकु माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। त्यसअघि २७ गते राति शौच गर्न जाँदा आफूमाथि स्थानीय रूपेश मण्डल, रामविनय मण्डल र चन्दन साहले मुख थुनेर गाउँबाहिर लगेको र हातखुट्टा अचल बनाएर पालैपिलो बलात्कार गरेको आफ्नी आमा सीतादेवीसँग बताएकी थिइन्।

यो पनि: ‘आर्टिकल १५’ को झल्को दिने सिरहाको ‘सामूहिक बलात्कार’ घटना

यो कुरा पीडक र पीडित पक्ष दुवैले थाहा पाएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती बसेको थियो। तर पैसाको कुरा नमिलेपछि घटना बाहिरिँदा फागुन ४ गते नै मधेश प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले इलाका प्रहरी कार्यालय, लहानमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार शीर्षकमा पूरक जाहेरी दिएका थिए।