अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल: दक्षिण एशियाका लोककथामार्फत लोकलाई सन्देश

आरिमोमाङगाले चन्द्रमा निलेको मिथकलाई फिलिपिनीहरू चन्द्रग्रहणसँग तुलना गर्छन्। ग्रहणको समयमा विभिन्न परम्परागत बाजा बजाएर चन्द्रमालाई ‘फिर्ता ल्याउने’ चलन फिलिपिन्समा अहिले पनि छ।

तस्वीर सौजन्य: सर्वनाम थिएटर

काठमाडौँ–
आ... रिमोमाङगा
आ... रिमोमाङगा
आ... रिमोमाङगा

सर्वनाम थिएटरको हल दर्शकहरूको एकै स्वरले गुन्जियो। 

‘आरिमोमाङगा’ फिलिपिनी शब्द हो। फिलिपिन्समा प्रचलित मिथकमा ओरिमोमाङगाले सिंह, ड्रयागन अथवा सर्पलाई जनाउँछ। 

यो शब्दमा नेपालसहित विभिन्न देशका दर्शकले स्वर मिलाउन कसरी सम्भव भयो होला? 

फिलिपिनी नाटककारले आफ्नो नाटक प्रस्तुतिमा दर्शकलाई सो शब्द र अर्थसँग यति अभ्यस्त गराए, मानौँ विश्वका २० शहरका सबै नागरिक अघिदेखि नै जान्दथे। 

एशियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा फागुन १७ गतेदेखि इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल–२०२५ जारी छ। फागुन १८ गते उक्त दिनको अन्तिम नाटक ‘आरिमोमाङगाः द डिभोरिङ लायन’ मञ्चन हुँदै थियो। 

प्राविधिक व्यवस्थापनका कारण नाटक समय तालिकाभन्दा केही ढिलो शुरू हुने भयो। कार्यक्रमका सहजकर्ता नाटकबारे बताउन थाले। तर यसअघि लगालग तीन वटा नाटक हेरिसकेका दर्शक बाहिर निस्कन हतार गर्न थाले। नाटकलाई दर्शकको साथ नमिल्ने हो कि भन्ने आशंका थियो।

तर जसै नाटक शुरू भयो, दर्शकलाई यसरी खिच्यो कि सबैले एकै स्वरमा ‘आरिमोमाङगा’ भन्ने थाले।

मञ्चमा भने केवल दुई पात्र थिए, उनीहरूसँग केही थान रैथाने बाजागाजा, पहिरन, एउटा स्लाइड थियो। सहयोगका लागि दर्शकबाट एक बालकलाई पनि नाटकमा सहभागी गराए। सीमित स्रोत र साधनमा नाटकको मञ्चन भइरहको थियो। नाटक कचहरी शैलीमा प्रस्तुत भएको थियो। अर्थात्, नाटकमा दर्शकलाई समेत सक्रिय गराइएको थियो। 

के थियो आरिमोमाङगाको कथा?
फिलिपिनी मिथकअनुसार आरिमोमाङगा नामको प्राणीले पृथ्वीका मानिसलाई प्रकृतिका अवयव, जीवनशैली, पद्धति सिकाउँथे। कृषि गर्न पनि सिकाउँथे। बिस्तारै मानिसहरूले कृषि गर्न सिके, अनि आरिमोमाङगालाई बिर्सन थाले। मानिसले आफूलाई बिर्सन थालेको भान भएपछि आरिमोमाङगालाई रिस उठ्यो।

पृथ्वीमा वैभव र शक्तिलाई सन्तुलन गर्न आकाशमा सात वटा चन्द्रमा हुन्छन्। रिसले चुर भएको आरिमोमाङगाले ती चन्द्रमा खाइदिएपछि पृथ्वीको सन्तुलन बिग्रियो। 

आरिमोमाङगाबाट सात चन्द्रमा फिर्ता ल्याउन विभिन्न किसिमका वाद्यवाधनको प्रयोग गरिन्छ। ती बाजाको धुनमा आरिमोमाङगा आफूले खाएका चन्द्रमाहरूलाई क्रमशः निकालेर आकाशमा राखिदिन बाध्य हुन्छ।

आरिमोमाङगाले चन्द्रमा निलेको मिथकलाई फिलिपिनीहरू चन्द्रग्रहणसँग तुलना गर्छन्। ग्रहणको समयमा विभिन्न परम्परागत बाजा बजाएर चन्द्रमालाई ‘फिर्ता ल्याउने’ चलन फिलिपिन्समा अहिले पनि छ। 

पात्रहरूको हाउभाउभन्दा पनि कथन शैलीमा उक्त नाटकलाई प्रस्तुत गरिएको छ। नाटकका दुई पात्रले सोही मिथकमा आधिरित भएर मानिसहरूबीच हराएको एकता र एक्लोपनलाई ध्वनिमार्फत जोड्न सकिने सन्देश दिएका छन्। 

प्रेममा अविश्वास
उक्त नाटकअघि थाइल्यान्डको ‘डिसेप्सन अफ द डेमन’ अर्थात् ‘राक्षसको छल’ मञ्चन भएको थियो। यो नाटक थाइल्यान्डको मिथकमा आधारित छ।
एकादेशमा एक शक्तिशाली राक्षसलाई बन्दी बनाइएको हुन्छ। राज्यमा शान्ति कायम गर्न हरेक पटक राक्षसका लागि एक प्रजालाई बलिको लागि पठाउने गरिएको हुन्छ। यसपटक राजाका छोरा युवराज नै उक्त राक्षस भए ठाउँमा जाने निर्णय गर्छन्। 

युवराजको उद्देश्य त्यो राक्षसलाई मार्नु हुन्छ। राक्षसका लागि आफै जाने युवराजको निर्णयले राजालाई चकित तुल्याउँछ। यद्यपि, छोराको हठअघि उनको केही लाग्दैन।

राक्षससँग लड्न हिँडेका युवराजलाई उनकी प्रेमिकाले पनि रोक्ने प्रयास गर्छिन्। प्रेमी आफैँ मर्ने चिन्ता उनमा हुन्छ। राक्षस राखेको थाना कुनै भुलभुलैयाभन्दा कम हुँदैन। राक्षसलाई मार्न सफल भए पनि युवराज उक्त भुलभुलैयाबाट फर्कन सक्नेमा उनी शंका गर्छिन्।

युवराजको सकुसल फिर्तीका लागि प्रेमिकाले आफूसँग रहेको जादूमयी सल दिन्छिन्, जुन कहिल्यै पनि नचुडिने हुन्छ। सलको एक छेउ उनले समातेकी हुन्छिन्, अर्को छेउ युवराजले आफ्नो साथमा लैजान्छन्।

युवराजले राक्षसलाई मारेर फर्किन्छन्। तर त्यसपछिको परिस्थिति सोचेभन्दा फरक हुन्छ। उनकी प्रेमिकाले शंका गर्छिन्, के राक्षस साँच्चै मरेको छ? के युवराजले नै मारेका हुन्? उनले युवराजसँग राक्षस मारेको सबुत माग्छिन्। यसमा युवराजले पनि तर्क राख्छन्। तर आफूले राक्षसलाई मारेरको विश्वास दिलाउन सक्दैनन्।

अविश्वासले प्रेममा पार्ने असरलाई नाटकमा देखाइएको छ। प्रेमिकाको जादूमयी सल प्रेमको अटुट बन्धनको प्रतिक हुन्छ, जसलाई युवराजले आफ्नो हतियारले काटिदिन्छन्।

सर्वनामका नाटकः समाजको यथार्थ चित्रण
सर्वनामले आफ्ना दुई नाटक ‘अर्को कुरुक्षेत्र’ र ‘मनोक्रान्ति’ मञ्चन गरेको थियो। अशेष मल्लको परिकल्पना र निर्देशन रहेको ‘अर्को कुरुक्षेत्र’ नाटकमा उषा रजकको प्रमुख भूमिका छ। पौराणिक कथामा महिला पात्रलाई लेखकहरूले गरेको चित्रण, उनीहरूको कारुणिक जीवनलाई नाटकमा देखाइएको छ। के ती चित्रण न्यायोचित थिए? वर्तमान समाजले त्यसबाट कस्तो दृष्टिकोण, विचार निर्माण गरेको छ? यी विषयलाई पनि नाटकमा समेटिएको छ।

लेखकले आफ्नो स्वछन्दता प्रयोग गर्दा महिलामाथि गर्ने अत्याचारको चित्रणको विरोध नाटकमा छ। उदाहरणका लागि, महाभारतमा दौपद्रीले सहनु परेको चीरहरण, रामायणमा सीताले दिनुपरेको अग्निपरीक्षा पुरुषवादी दृष्टिकोणबाट निर्माण भएको तर्क गरिएको छ। नाटकको अवधि १५ मिनेटको छ। 

त्यस्तै, ‘मनोक्रान्ति’ नाटकमार्फत द्वन्द्वकालका एक योद्धाको कथा प्रस्तुत गरिएको छ। जनयुद्धमा होमिएका योद्धाको मनोभावलाई नाटकमा उतारिएको छ। ती योद्धा भन्छन्, “रगतका पाइला पछ्याउँदै जानेहरू परसम्म पुगे, तर मलाई ती पाइलाहरूले अझैसम्म पछ्याइरहेका छन्।” 
द्वन्द्वकालमा क्रान्तिका लागि लडेका ती पात्र अहिले आफूभित्रै मनोक्रान्तिको द्वन्द्वमा फसेका छन्। उनी आफैसँग प्रश्न गर्छन्, “के त्यो साँच्चै आवश्यक थियो?”

सर्वनाम थिएटर यस फेस्टिभलको सहआयोजक हो। ३०–३५ वर्षअघि दक्षिण एशियाका साथीभाइको भेटमा बनाइएको नाटकको संयुक्त टोली पुनः एकत्रित भएर यो फेस्टिभल गरिएको सर्वनामका संस्थापक अशेष मल्ल बताउँछन्।

फेस्टिभलमा जापान, भारत, चीन, थाइल्यान्ड, बाङ्लादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिंगापुर र नेपाल गरी १३ देशका २०० भन्दा बढी रंगकर्मी सहभागी छन्। काठमाडौँमा फागुन १८ देखि २१ सम्म हुने फेस्टिभलले त्यसपछि पूर्वको यात्रा गर्नेछ। काठमाडौँपछि इटहरीमा फागुन २३ देखि २५ गतेसम्म र धनकुटामा फागुन २६ गते सडक नाटक गरिने सर्वनामले जनाएको छ।