डिर्पाेट भएकाहरूले प्रहरी अधिकारीलाई दिएको बयानअनुसार उनीहरू एक वर्षअघि छुट्टाछुट्टै रूपमा युरोप र दक्षिण अमेरिकाको बाटो भएर मेक्सिको हुँदै अमेरिका छिरेका थिए।
काठमाडौँ– अमेरिकाबाट डिपोर्ट (देशनिकाला) गरिएका ९ जना नेपालीलाई बुधबार बिहान नेपाल फर्काइएको छ। ८ जनालाई अमेरिकाको चार्टर विमानमार्फत र एक जना भने नियमित उडानबाट नेपाल ल्याइएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अवैधानिक आप्रवासीलाई निष्कासित गर्ने कडा नीतिअन्तर्गत फर्काइएकामध्ये ८ जना बिहान ९ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। त्यस्तै, कतार एअरवेजको नियमित उडानमार्फत आएकी एक जना महिला पनि बुधबार बिहान नै आइपुगेकी थिइन्।
उनीहरूलाई विमानस्थलको अध्यागमनबाट प्रहरीलाई जिम्मा लगाएर सिधै बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुर्याइएको थियो। त्यहाँ उनीहरूसँग साढे दुई घण्टा सोधपुछ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। प्रवक्ता कुँवरका अनुसार डिपोर्ट गरिएकामध्ये २ जना महिलासहित दाङका ३ जना, रुकुम पूर्वका २, रुकुम पश्चिमका २, रोल्पा र डोटीका १/१ जना छन्। ब्युरोका अनुसार ती सबै २२ देखि ३५ वर्ष उमेरका हुन्।
डिर्पाेट भएकाहरूले प्रहरी अधिकारीलाई दिएको बयानअनुसार उनीहरू छुट्टाछुट्टै रूपमा विभिन्न बाटो भएर मेक्सिको हुँदै अमेरिका छिरेका थिए।
ब्युरोका प्रमुख एसएसपी दिपेन्द्र घर्ती क्षेत्रीका अनुसार तीमध्ये केहीले नेपालबाट दुबई, दक्षिण अमेरिकाको ब्राजिल, निकारागुवाबाट मेक्सिको हुँदै अमेरिका छिरे। केही भने युरोपका विभिन्न देशबाट मेक्सिको हुँदै अमेरिका छिरेको प्रमुख एसएसपी घर्तीले बताए।
“सबै जनाले अमेरिका पुग्न अलग अलग रुट प्रयोग गरेका छन्,” उनले भने, “कोही युरोपको बाटो, कोही दक्षिण अमेरिकाको बाटो भएर अमेरिका छिरेको पाइयो।” एक वर्षअघि नै नेपालदेखि यात्रा तय गरेका उनीहरू जंगल, खोला, समुद्र छिचोल्दै महिनौँ लगाएर अमेरिका पुगे। प्रमुख घर्तीका अनुसार अमेरिका जान उनीहरूले एजेन्टलाई ४० लाखदेखि १ करोड रुपैयाँसम्म खर्चेका थिए।
अमेरिका प्रवेश गर्ने सीमाबाटै प्रक्राउ परेका उनीहरू त्यहाँबाट सिधै डिटेन्सन क्याम्पमा पुर्याइए। डिटेन्सनमा रहँदा उनीहरूले शरणार्थी (असाइलम)का लागि अदालती प्रक्रिया अघि बढाए। तर अमेरिकी अदालतले त्यो मुद्दा खारेज गरिदियो। त्यसपछि उनीहरूलाई अमेरिकाले डिपोर्टको फैसला सुनायो। त्यसक्रममा उनीहरूले ४ महिनादेखि ९ महिनासम्म डिटेन्सन क्याम्पमा बिताएका थिए।
“शरणार्थी मुद्दा अस्वीकार भएपछि डिर्पाेट गरिएको रहेछ,” प्रमुख घर्तीले भने, “उनीहरू आउन चाहेका थिएनन्, तर अदालतले डिपोर्टको फैसला सुनाएपछि फर्काइयो।” उनका अनुसार अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको पुनरागमन हुनुअगावै उनीहरूलाई डिपोर्टको फैसला सुनाइएको थियो।
एजेन्टको नाम खुलाउन चाहेनन्
मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुर्याइएका उनीहरूसँग प्रहरी अधिकारीले करिब दुई घण्टा सोधपुछ गरेका थिए। त्यस क्रममा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा परेको हुन सक्ने भन्दै प्रश्न सोधेका थिए। अमेरिका पठाउने एजेन्टको नामसमेत खुलाउन भनिएको थियो। तर उनीहरूले एजेन्टको नाम नै खुलाउन चाहेनन्।
ब्युरोले अमेरिकाबाट डिपोर्ट भएकाहरू सबैलाई सोधपुछ गर्ने गर्छ। तर त्यसरी फर्केका कसैले पनि मानव तस्कर र एजेन्टविरुद्ध बोल्न नचाहने प्रमुख घर्तीले बताए।
“पीडित नै बोल्न नचाहे पछि हामीले गर्न सक्ने केही भएन,” उनले भने।
ट्रम्पको आगमनपछि ३५ नेपाली डिपोर्ट
अमेरिकाको राष्ट्रपतिमा ट्रमको पुनरागमनपछि नेपालीलाई डिर्पाेट गरिएको यो पहिलो घटना भने होइन। यसअघि २५ जनालाई डिपोर्ट गरिसकेको थियो। ट्रम्पको आदेशपछि मात्र जनवरीयता ३५ जना नेपाली डिपोर्ट भएको मानव बेचबिखन ब्युरोको तथ्याकं छ।
अहिले फेरि ट्रम्प प्रशासनले कागजातविहीन/गैरकानूनी रूपमा बस्दै आएका आप्रवासीलाई फिर्ता पठाउने नीति ल्याएसँगै त्यस्तो हैसियतमा रहेका नेपालीलाई फर्काइने क्रम पनि जारी छ। यसमा अन्य देशका नागरिकहरूसँगै नेपालीहरू पनि डिपोर्टे हुनेक्रम बढ्दो छ।
अमेरिकाबाट डिर्पाेट भएर नेपाल फर्काइनेक्रम अझै बढ्ने देखिन्छ। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अवैध रूपमा अमेरिका छिरेका दुई हजार आठ जना नेपाली हिरासतमा छन्। तीमध्ये एक हजार ३६५ जना डिपोर्ट हुने सूचिमा छन्।
६ वर्षमा २६२ नेपाली डिपोर्ट
मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार पछिल्लो ६ वर्षमा २६२ नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। आर्थिक वर्ष २०७५/७६ मा ४५, २०७६/७७ मा ८३, २०७७/७८ मा ३०, २०७८/७९ मा १३, २०७९/८० मा ७, २०८०/८१ मा २१ र चालु आर्थिक वर्षको २०८१/८२ मा ६३ जना डिर्पाेट भएका छन्।
अमेरिकाले अवैध मार्गबाट पुगेकाहरू मात्र नभएर उतै आपराधिक गतिविधिमा संलग्न भएकाहरूलाई पनि डिपोर्ट गर्छ। तर यसरी डिपोर्ट हुनेमा पनि अधिकांश अवैध रूपमा अमेरिका गएकाहरू नै हुने गरेको ब्युरोका प्रवक्ता नरेन्द्र कुँवर बताउँछन्। संगठित मानव तस्करको सहयोगमा नेपालीहरू अवैध मार्गबाट अमेरिका पुग्ने गरेको उनले सुनाए।
उनका अनुसार तस्कहरूले अवैधमार्गबाट अमेरिका पुर्याउन भारत–यूएई–टर्की–स्पेन–ब्राजिल–पेरु–इक्वेडर–कोलम्बिया–पानामा–कोष्टारिका–निकारागुआ–होन्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गर्दै आएका छन्। अमेरिका पुग्ने सपनाका लागि नेपालीहरूले मोटो रकम खर्चिने गरेको पाइएको छ। अमेरिका पुग्न नेपालीहरूले प्रतिव्यक्ति ५० लाखदेखि करिब १ करोड रुपैयाँसम्म एजेन्टलाई बुझाउने गरेका उनले बताए।
“एजेन्टअनुसार फरक–फरक रकम बुझाएर गएको देखिन्छ, कसैले १ करोडसम्म पनि बुझाएका छन्,” प्रवक्ता कुँवरले भने, “यसक्रममा विभिन्न अनौपचारिक स्रोतबाट पनि रकम बाहिरिने गरेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
