अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न सांसदको माग

 सांसदले नेपाललाई प्राप्त अमेरिकी अनुदान सहयोगबारे सरकारबाट श्वेतपत्र जारी हुनुपर्ने माग गरेका छन्। 

काठमाडौँ– सांसदले नेपाललाई प्राप्त अमेरिकी अनुदान सहयोगबारे सरकारबाट श्वेतपत्र जारी हुनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसद रामहरि खतिवडाले अमेरिकाले नेपाललाई प्रदान गरेको अनुदान सहयोग दुरुपयोग भयो भनेर प्रश्न उठिरहेका बेला कुन निकायबाट कस्तो कामका लागि कति खर्च भएको हो भनेर विस्तृत विवरण सार्वजनिक हुनुपर्ने  माग गरे। 

“अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गरियोस्। गैरसरकारी संस्था वा अन्तर्राष्ट्रिय गैरसकारी संस्थामार्फत प्राप्त भएको रकमबारे स्पष्ट जानकारी दिइयोस्,” उनले भने। अमेरिकाले अवैधानिक रूपमा बसेका नेपालीलाई फिर्ता पठाइएको र पत्रकारले प्रश्न गरेकै आधारमा संसद्को पास स्थगनबारे पनि उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

बैठकमा सांसद देवेन्द्र पौडेलले पनि अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक नेपाल फिर्ता भएको उल्लेख गर्दै विभिन्न देशमा रहेका नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्ने बताए। “दुबई, जापान, क्यानडा, कोरियालगायत मुलुकबाट नेपालीलाई डिपोर्ट गरिएको छ। त्यहाँ समस्यामा परेका नागरिकलाई फिर्ता गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल गरिनुपर्छ,” उनले भने।

सांसद हरि ढकालले एलपी ग्यास व्यवसायीले कमिसन बढाउन सरकारलाई दबाब दिएकै आधारमा मूल्य बढाउने र बजारमा कृत्रिम अभाव सिर्जनाको स्थिति बनेको बताए। त्यस्तै, सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य घटाउन भनेर सरकारलाई निर्देशन दिएकोमा हालसम्म पनि कार्यान्वयन हुन नसकेको बताए। उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको धारणा पनि उनले राखे।

सांसद माधव सापकोटाले सरकार र शिक्षक महासंघबीच गत वर्ष भएको सहमति कार्यान्वयनका लागि आग्रह गरे। शिक्षकले गत वर्ष पनि आन्दोलन गरेको र त्यसपछि सरकारसँग सहमति भएकोमा त्यसलाई कार्यान्वयन गर्न नसक्दा फेरि आन्दोलित भएको उनको भनाइ छ। शिक्षक महासंघले अहिले फेरी आन्दोलनको तयारी गरिरहेको बताउनुहुँदै उनीहरूको जायज माग पूरा गर्न आग्रह गरे।

सांसद अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिमा सरकारले संविधान मिचेको आरोप लगाए। सचिवमा वरिष्ठ कर्मचारीलाई सचिव नियुक्त नगरेर कनिष्ठलाई नियुक्त गरेको तथा आदिवासी जनजाति, मधेशी, महिलाप्रति पूर्वाग्रह राखेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामासमेत उनले माग गरे।

सांसद लालप्रसाद सावा लिम्बूले झापाको शिवसताक्षी ११ को क्याम्ब्रिज स्कुलको दुई वटा बस जलेको विषय संसद्मा उठान गरे। उनले समग्र विद्यालयको सुरक्षा संवेदनशीलताको विषय संसद्मा राखे।