काठमाडौँ महानगरलाई संघीय मन्त्रालयको पत्र : सरोज गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिनू

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका सरोजप्रसाद गुरागाईंलाई काम गर्ने वातावरण सहज बनाइदिन अनुरोध गरेको छ।

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौँ महानगरपालिकालाई अनुरोध गरेको छ। मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौँ महानगरपालिकामा खटाइएका सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएको थियो। त्यसपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो।

काठमाडौँ महानगरमा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो। महानगर प्रमुख शाहले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झूटा लाञ्छनासमेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ।

मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले काठमाडौँ महानगरलाई बुधबार पत्राचार गर्दै भनेको छ, “प्रस्तुत विषयमा त्यहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज प्रसाद गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्य वातावरण बिथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई त्यहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयअनुसार अनुरोध छ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत गुरागाईंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौँ महानगरपालिका पठाएको थियो। आधिकारिक प्रक्रिया पूरा नगरी काठमाडौँ टावरको नक्सा पास गरेको भन्दै काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन अगाडि बढाउँदै प्रवेशमा रोक लगाएको थियो।