जनकपुरबाट एउटा पांग्राबिनै आएको बुद्ध एयरको विमान काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक गडबडी देखिएकाले जहाज प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको बुद्ध एयरले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– जनकपुरबाट आएको बुद्ध एयरको विमान एउटा पांग्राबिनै काठमाडौँमा सुरक्षित अवतरण गरेको छ।

बिहीबार अपराह्न जनकपुरबाट काठमाडौँका उडेको विमानको एउटा पांग्रा जनकपुरमै छुटेको थियो।

सो विमानले अगाडिका दुईमध्ये एक पांग्राबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

“एक पांग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ। यो खासै ठूलो समस्या भने होइन तर पांग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ,” उनले भने।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताए।

“प्राविधिक गडबडी देखिएकाले जहाज प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ”, उनले भने।