साँखुको अनाथालयमा टिपर पस्यो, सुतिरहेका ३ जनाको मृत्यु

द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले सञ्चालन गरेको अनाथालयमा ६१ जनाले आश्रय लिइरहेका छन्। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए। 

काठमाडौँ– शंखरापुर नगरपालिका–६ साँखुस्थित एक अनाथालयमा मानिस सुतिरहेको स्थानमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान साढे तीन बजेतिर अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई छिर्दा दुर्घटना भएको हो। एक जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार मृत्यु हुनेमा ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन छन्।

द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले जस्ता र काठको प्रयोग गरेर बनाएको अस्थायी टहरामा टिपर छिरेको थियो। वडाध्यक्ष श्रेष्ठका अनुसार टहरा सडकसँगै जोडिएको छ।

उक्त अनाथालयमा हाल ६१ जनाले आश्रय लिइरहेका छन्। टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए। 

टिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ।