दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अदालतको अनुमति

युन संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन्। यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ।

दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई रिहाइ गर्न अनुमति दिएको छ।

निलम्बित राष्ट्रपतिका वकिलहरूले उनको गिरफ्तारी रद्द गर्न अनुरोध दायर गर्दै हिरासत गैरकानूनी भएको तर्क गरेका थिए। अभियोजन पक्षले उनलाई अभियोग लगाउन लामो समय पर्खिएको थियो।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइएको निष्कर्षमा पुग्नु तर्कसंगत हुने उल्लेख गरेको छ। 

“प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताको बारेमा कुनै पनि शंका हटाउन हिरासत रद्द गर्ने निर्णय जारी गर्नु उपयुक्त ठानिएको छ,” अदालतले भनेको छ।

सियोलस्थित आफ्नो सरकारी निवासमा सुरक्षा टोली र अनुसन्धानकर्ताबीच तनावपूर्ण झडप हुँदा ६४ वर्षीय युनले दुई हप्तासम्म गिरफ्तारीको विरोध गरे पनि अन्ततः १५ जनवरीमा उनलाई हिरासतमा लिइएको थियो।

उनी संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन्। यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ।