पेरिसको रेल स्टेसनमा भेटियो दोस्रो विश्वयुद्धताकाको बम

दोस्रो विश्वयुद्धताकाको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेलवे स्टेसनबाट हुने आवतजावत बन्द गरिएको छ।

फ्रान्सको एक रेल स्टेसनमा दोस्रो विश्वयुद्धताकाको बम फेला परेको छ। पेरिस गारे डु नोर्ड रेल स्टेसनमा बम भेटिएपछि यातायात रोकिएको शुक्रबार अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय एसएनसीएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा रातभरको मर्मतका क्रममा ‘रेलमार्गको बीचमा’ विस्फोट नभएको बम फेला परेको बताएको छ।

आरईआर बी उपनगरीय रेलले एक्समा लेखेको पोस्टमा बम ‘दोस्रो विश्वयुद्धको समयको’ भएको उल्लेख छ।

पेरिस प्रहरीले बमलाई निष्क्रिय पार्ने काम गरिरहेकाले युरोस्टार रेलहरूका साथै उच्च–गति र स्थानीय सेवाहरू सञ्चालन गर्ने रेल स्टेसनमा यातायात रोकिएको छ।

गारे डु नोर्ड रेल स्टेसन पेरिसको उत्तरमा अवस्थित छ। यो देशको सबैभन्दा व्यस्त रेल टर्मिनल हो। एसएनसीएफका अनुसार यो टर्मिनलमार्फत प्रत्येक दिन अनुमानित सात लाख मानिसलाई सेवा प्रदान गर्दछ।