‘बी’ डिभिजन लिग : १४ क्लबको सहभागिता, ९१ खेल सञ्चालन हुने

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले १० लाख रुपैयाँ पाउने छ।

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यही फागुन २५ गतेदेखि राजधानीमा शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगितामा कुल ९१ वटा खेल सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। उनका अनुसार प्रतियोगिता दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

प्रतियोगितामा देशभरका १४ क्लबको सहभागिता रहने छ। जसमा आरसिटी क्लब, श्री भगवती क्लब, टुसाल युथ क्बल, ब्रिगेड व्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब र बाँसबारी क्लब सहभागी छन्। 

त्यसैगरी श्रीकुमारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्बल र प्लानिङ युनाइटेड क्लब रहेका छन्। एन्फाले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 

प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसी स्पोर्टस्लाई प्रदान गरेको छ। उक्त प्रतियोगिताको टिकट दर दशरथ रंगशालामा साधारण प्यारापिटतर्फ १०० रुपैयाँ र भीआईपी प्यारापिटतर्फ ३०० रुपैयाँ तोकिएको छ। त्यस्तै, सातदोबाटोमा सामान्य प्यारापिटर्फ १०० रुपैयाँ कायम गरिएको छ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले १० लाख रुपैयाँ पाउने छ। त्यसैगरी तेस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने छ। प्रतियोगितामा फेयर प्ले टिमले एक लाख, उत्कृष्ट गोलकिपरले ५० हजार, सर्वाधिक गोलकर्ताले ५० हजार र प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले सात हजार ५०० रुपैयाँ पाउने छ।

त्यसैगरी हरेका खेलका विजयी हुने टोलीले २५ हजार तथा बराबरी भएमा टोलीले १० हजार रुपैयाँ पाउने छ। उक्त प्रतियोगिताको सञ्चालनका लागि कुल तीन करोड ९३ लाख एक हजार ८१३ रुपैयाँ लाग्ने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने छ।