अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता अर्थपूर्ण रूपमा बढ्दै गएको छ। 

फाइल तस्वीर

काठमाडौँ– ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण’ मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ।

सरकार र सरोकारवाला निकायले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठनले पनि महिला दिवसको कार्यक्रम तय गरेका छन्।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैंगिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ। यस्तै, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवं उचित सम्मान गर्नेलगायत उद्देश्य पनि यस दिवसको रहेको छ।

नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलनका हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ। यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको  छ। समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता अर्थपूर्ण रूपमा बढ्दै गएको छ। 

हाल संघीय संसद्‌मा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि छन्। यसैगरी निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ।

समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ। शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समान रूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ।

सन् १९७५ देखि संयुक्त राष्ट्रसंघले नारी दिवस मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो। सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। 

सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ। महिला हक र अधिकारको माग सारेर महिलाले नै संघर्ष शुरू गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ।