जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले सगरमाथा क्षेत्रका नागरिक खाद्य सुरक्षाको गम्भीर प्रभावमा परेका छन्।
सोलुखुम्बु– सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबालीको उत्पादन घट्न थालेको छ। मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुख्खा मौसमका कारण खेतीपाती प्रभावित भएको किसान बताउँछन्।
स्थानीय पासाङ ल्हामु शेर्पा भन्छिन्, “पहिले यहाँ उवा, फापर प्रशस्त फल्थ्यो, अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपरेको छ। पानीको अभाव, माटोको उर्वराशक्ति घट्दै जानु र चरम मौसमी परिवर्तनका कारण बाली लगाउनै कठिन हुँदै गएको छ। खेती लगाउँदा पनि खासै पहिलाजस्तो उब्जाउ हुँदैन त्यही भएर हामीले खेती लगाउनै छोड्यौँ हामीले।”
सगरमाथा क्षेत्रका स्थानीय बासिन्दा जलवायु परिवर्तनको असरले प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। विशेष गरी यहाँका महिला तथा बालबालिकाहरू पोषण अभावको समस्याबाट जुधिरहेका छन्। जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले खुम्बु क्षेत्रका नागरिक खाद्य सुरक्षाको गम्भीर प्रभावमा परेका छन्।
यसका कारण अझ बढी महिलाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ। पोषणको अभावले गर्भवती महिलाको स्वास्थ्य झन् कमजोर बन्ने जोखिम रहेको स्थानीय स्वास्थ्यकर्मी बताउँछन्। सन्तुलित आहारको कमीले नवजात शिशुहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने सम्भावना बढेको स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताइन्।
उनका अनुसार स्थानीय उत्पादन घट्दै जानु, मौसम परिवर्तनका कारण पुराना खेतीप्रणाली असफल हुनु र आयातित खाद्य सामग्रीमा निर्भरता बढ्नुले यहाँका महिला थप समस्यामा परेका छन्। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले केही समयअघि अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएको देखाएको छ। हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर विश्व औसतभन्दा दोब्बर छ। जसका कारण हिउँ पग्लने गति तीव्र बनेको छ। हिमाली क्षेत्रमा खेती उब्जाउमा भारी गिरावट आउँदै गएको खुम्बुको छुकुमका तेन्जिङ जाङ्बु शेर्पाले बताए।
“मलाइ नै थाहा हुँदासम्म यहाँ ठाउँमा लेकाली जातको फापर धेरै खेती हुन्थ्यो तर अहिले हेर्नुस् त सबै जग्गा बाँझै छ, खेती हुनै छोडेपछि किन दुःख मात्रै गर्नु भनेर अब त लगाउन पनि छोड्यौँ हामीले, खै थाहा हुनेले यो जलवायु परिवर्तनको असर हो भन्छन्, तर यसलाई हामीलाई धेरै समस्यामा पारेको छ,” उनले भने। सगरमाथा आरोहीले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पुर्याएको छ। प्लास्टिक, खाद्यान्नका प्याकेट, तथा अन्य गैरजैविक फोहोरले हिमनदीमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ।
सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय फस्टाएसँगै यहाँको वातावरणमा भने प्रतिकूल असर परेको छ। पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार पालिका तथा सरकारले जतिसुकै कडाइ गरे पनि आरोहीहरूले केही मात्रामा भए पनि यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन्, जसले वातावरणीय असन्तुलन निम्त्याइरहेको छ। लुक्लाका स्थानीय बासिन्दा तोयाकुमार श्रेष्ठ भन्छन्, “सधैँ चाँदीझैँ टल्कने हिमालहरू अहिले काला पहाडमा परिणत भइरहेका छन्। आरोहीहरूले छोडेका फोहोर, औद्योगिक धुलो–धूवाँ, र विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्र थप जोखिममा परेको छ।”
बाहिरी आँखाले हेर्दा हिमाल कालो हुँदै गएको मात्रै देखिए पनि जलवायु परिवर्तनले हिमाली क्षेत्रका नागरिकहरूको दैनिकीमा नै परिवर्तन ल्याएको छ। समयमा हिमपात नहुँदा जमिन सुख्खा हुँदै गएका छन् भने गर्मी हुने याममा जाडो हुने र चिसो समयमा गर्मी महसुस हुने गरेको स्थानीय अमृत मगरले बताए। यसका कारण खेतीबाली तथा पौष्टिक तत्त्वको आपूर्तिमा नै असर परेको उनको भनाइ छ।
जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ। वातावरणविद् डा. राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योग र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ। हिमाली क्षेत्रमा पानीको स्रोत सुकेको, हिउँ पग्लिँदै गएको तथा मौसमी चक्र गडबड भएको स्थानीयको भनाइ छ।
परम्परागत बालीहरू संरक्षण गरी जलवायु परिवर्तन अनुकूल कृषि प्रणाली विकास गर्नुपर्ने विज्ञको तर्क छ। साना किसानलाई जलवायु अनुकूल खेती प्रणाली सिकाउने, सिँचाइका लागि वैकल्पिक उपाय खोज्ने तथा जैविक कृषिलाई प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको कृषिविज्ञ चन्द्रमान श्रेष्ठले बताए। “हिमाली भेगको कृषि उब्जाउ घट्नुको मुख्य कारण नै जलवायु परिवर्तन हो, तर खेती भएन भनेर बारीहरू यतिकै बाँझो छोड्नु झन् चिन्ताको विषय हो। रैथाने खेती उब्जाउ भएन भने अन्य विकसित प्रजाति पनि लगाउन सकिन्छ,” कृषिविज्ञ श्रेष्ठले भने।
स्थानीय बासिन्दाले जलवायु परिवर्तन अनुकूलनका लागि विभिन्न उपाय अपनाइरहेका छन्। टनेल खेती, जैविक मलको प्रयोग र पारम्परिक ज्ञानमा आधारित कृषि प्रविधि प्रयोग गर्न थालेका छन्। तथापि यी उपाय दीर्घकालीन रूपमा पर्याप्त नहुन सक्ने र थप सरकारी तथा गैरसरकारी सहयोग आवश्यक पर्ने विज्ञको भनाइ छ। कृषि उत्पादनमा आएको गिरावट, खाद्य असुरक्षा, पोषणको अभाव र जलवायु परिवर्तनको दीर्घकालीन असरका कारण उनीहरूको स्वास्थ्य संकट गहिरिँदै गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
