गंगाले छिमेकीसँग १ हजार ७०० रुपैयाँ ऋण लिएर वसन्तपुरको निस्थानन्द गल्लीस्थित एक घरको भर्याङमुनि सानो चिया पसल थालेकी थिइन्। एक वर्षको मिहिनेतपछि बल्ल स्वादिलो चिया बनाउन सिकेको उनी बताउँछिन्।
काठमाडौँ– वसन्तपुरको निस्थानन्द गल्ली। त्यही गल्ली भित्रपट्टि घरको भर्याङमुनि सानो पसल छ। पसलको कुनै बोर्ड छैन। तर ‘गोर्खाली पसल’ले चिनिन्छ। त्योभन्दा धेरै ‘आमाको चिया पसल’ले। चिया पिउन आउने जो कोहीको आमा, अर्थात् गंगा खड्का। पसल सबेरै ३:४० बजेतिरै खुलिसक्छ। लगत्तै ‘शुभ बिहानी’ भन्दै ग्राहक आइपुग्छन् चियाको चुस्की लिन।
बुवा नरबहादुर खड्का भारत कोलकात्ताको एक क्याम्पसमा कार्यालय सहयोगीका रूपमा काम गर्थे। २०२३ सालमा भारतमै हो गंगाको जन्म भएको हो। गंगा पहिलो सन्तान, उनीपछि तीन बहिनी र एक भाइ। ११ वर्षकी हुँदा भारतमा चार कक्षामा पढ्दै थिइन्। त्यति बेलासम्म माइली बहिनी लक्ष्मी पनि जन्मिइसकेकी थिइन्।
गंगासँगै माइली बहिनीलाई बुवाले आफ्नो पुर्ख्यौली घर गोर्खा लिएर आए। उनीहरूलाई गोर्खामै हजुरआमाको साथमा छोडेर नरबहादुर भारत फर्किए।

हिन्दीबाहेकका भाषामा उनको पकड थिएन। नेपाली भाषा, चालचलन, ग्रामीण रितिसंस्कृति बुझ्नै वर्ष दिन लाग्यो। त्यतिबेला त्यो ग्रामीण क्षेत्रमा पढ्नुपर्छ भन्ने बुझाइ कोहीसँग पनि थिएन। त्यही कारण भारतमा गरेको ४ कक्षासम्मको पढाइभन्दा माथि पढ्न नपाएको उनको भनाइ छ।
भारतमा बुवाआमाको काखमा हाँस्दैखेल्दै हुर्किएकी गंगा। एक्कासि घाँस, दाउरा गर्न जंगल जानुपर्दा, मेलापात गर्नुपर्दा निकै सकस परेको थियो। घाँस–दाउरा र मेलापातसँगै बहिनीको जिम्मेवारीले बाल्यकाल कठिनाइमै बित्यो। बुवाआमाबाट टाढा हुनु पर्दाको पीडा छँदै थियो। उनलाई हरेक समय बुवाआमाको यादले खुब सताउँथ्यो। बुवाआमाले चिठी पठाउँथे। त्यो आइपुग्नै ६ महिना लाग्थ्यो। चिठी आइपुग्ला कि भन्ने आसैआसमा दिन कट्थे। कहिलेकाहीँ घाँस, दाउरा जाँदा बुवाआमालाई याद गरेर रुने गरेको उनी सम्झिन्छिन्।
१९ वर्षको हुँदा गाउँकै बाबुलाल पाठकसँग विवाह भयो। उनी पहिला नै विवाहित थिए। त्यस समय गाउँमा बहुविवाह गर्नु सामान्य मानिने गरेको उनी सुनाउँछिन्। उनी बाबुलालको कान्छी श्रीमतीका रूपमा भित्रिइन्। उनी र श्रीमान्को पहिलो श्रीमतीको सम्बन्ध सौताको भए पनि एक अर्कालाई स्विकारेर दिदीबहिनी मानेर बसेको सुनाउँछिन्।
बिहे गरेको केही वर्षमै छोरीको जन्म भयो। गंगाको कोखबाट एउटा छोरी मात्र हुन्। बाँकी दुई छोरा र एक छोरी उनका सौताको हुन्। तर सबैलाई उनी आफ्नै सन्तान जस्तै मान्छिन्। छोराछोरीले पनि आफ्नै आमालाई झैँ माया गर्ने गरेको उनले बताइन्।

चिया र गंगाको नाता
गंगा भारतबाट गोरखा आएपछि कहीँकतै गएकी थिइनन्। २८ वर्षको हुँदा पहिलोचोटि श्रीमान्सँगै काठमाडौँ आइन्। काठमाडौँ आएको केही समयपछि श्रीमान्ले ठमेलको एक रेस्टुरेन्टमा सुरक्षा गार्डको काम थाले। उनी घरमा सरसफाइका साथै कारखानामा धागो काट्न थालिन्। तर काम चित्त बुझेन। दुई वर्षमा काम छाडिन्। त्यसपछि एक वर्ष केही काम नगरी घरमै बसिन्। घरमा यत्तिकै बस्दा दिक्दार लाग्न थाल्यो।
साथीहरूले घरमा बसिराख्नुभन्दा चिया पसल खोल्न सुझाए। श्रीमान्सँग सल्लाहपछि चिया पसल खोल्ने निधो गरिन्। तर पैसा थिएन। एक जना नेवार छिमेकीसँग १ हजार ७०० रुपैयाँ ऋण लिइन्। त्यही पैसाले वसन्तपुरको निस्थानन्द गल्लीमा रहेको घरको भर्याङमुनि सानो पसल थालिन्।
शुरूआतका दिन सोचेजस्तो सहज रहेनन्। चिया बनाउन नजान्दा ग्राहकको चित्तै बुझाउन सकिनन्। एक वर्षको मिहिनेतपछि बल्ल स्वादिलो चिया बनाउन सिकिन्। त्यसपछि पसलको लोकप्रियता सँगै ग्राहकको संख्या पनि बढ्दै गयो।
गाउँबाट छोराछोरीलाई काठमाडौँ बोलाइन्। श्रीमान् आफूले कमाएको पैसा मद्यपानमै सकाउँथे। गंगाले चिया बेचेरै छोराछोरीलाई पढाइन्। दुई छोरा प्रहरी सेवामा छन्। छोरीहरूले आफ्नो घरपरिवारका साथै व्यापार व्यवसाय सम्हालेर बसिरहेका छन्।
छोराछोरी सबै आफ्नो–आफ्नो ठाउँमा राम्रो गरिरहेको देख्दा आफूलाई गर्व लाग्ने उनी बताउँछिन्। तर उनको मन बहलाउने ठाउँचाहिँ चिया पसल नै हो। दुःखपीडा सुनाउने साथी ग्राहक। उनी यसैमा खुशी छन्।
पसलमा चियाका लागि आउने ग्राहक नयाँभन्दा पुरानै बढी हुन्छन्। मिठो चिया हो कि उनको बोली, एकचोटि आएका ग्राहक फेरिफेरि आइराख्न रुचाउँछन्। वर्षौंदेखि गंगाको पसलमा आएर चिया खाने एक ग्राहक भन्छन्, “आमाको हातको चिया नपिएसम्म मेरो दिन नै शुभ हुँदैन, एक दिन छुट्दा दिनै खल्लो लाग्छ।”
एक दिन घरको कामले गर्दा अलिक ढिलो भयो पसल खोल्न। ढिलो हुँदा ग्राहकसँगको वार्ता सम्झिएर हाँस्दै एउटा किस्सा सुनाइन्। “आमा आज किन पसल खोल्न ढिला गर्नु भएको?” बिहानको ४ बजे एक ग्राहकले सोधे। आज २० मिनेट ढिला भयो खोल्न। एकै छिन पर्खिनूस् है, म चिया बनाइहालेँ’ भन्दै चिया बनाउन थालिन्। बसोबास पनि पसलनजिकै छ। दिउँसो पनि एकै छिन घर जाँदा ग्राहक त्यहीँ बोलाउन आइपुग्छन्।

दैनिकजसो २०० कपजति चिया बेच्ने गरेको सुनाइन्। वरिपरिका अफिस, पसलतिर पनि उनको पसलबाटै चिया पुग्छ। कुन अफिसमा कति बजे, कुन पसलमा कुन समयमा चिया पुर्याउने समय तालिका नै छ। समयसँगै उनको ग्राहक पनि बढ्दै गइरहेका छन्। चिया बनाउने, ग्राहकलाई दिने, अफिस र पसलसम्म पुर्याउन एक्लैले गाह्रो भएपछि एक जना सहयोगीसमेत राखेकी छन्।
वसन्तपुरभन्दा बाहिरको संसार ननियालेको २७ वर्ष भइसकेको छ। बाहिर कतै घुम्न जाऊँ, रमाइलो गरौँ भन्ने मनमा आउँदैन। नौ दशक काटेका बुवाआमा हेरविचार र त्यही सानो चिया पसललाई दुनियाँ मान्छिन्। उनका लागि पसल रौनक भएको छ।
“यो काम मेरो दिमागका लागि ओखती हो। यो दुःख, पीडा भुलाउने ठाउँ हो। यो नभए मेरो जिन्दगी अधुरो हुन्छ,” उनी भन्छिन्, “जबसम्म मेरो हात, खुट्टा चल्छन्, तबसम्म यो पसल गरिराख्छु।”
जीवनका चुनौतीहरू
गंगा सधैँजसो चिया बेचिरहेकी थिइन्। एक्कासि पेटमा असामान्य दुखाइ शुरू भयो। हतार हतार अस्पताल पुगिन्, परीक्षण गर्दा पत्ता लाग्यो– पाठेघरमा ट्युमर रहेको। चिकित्सकको कुराले अंग सिरिंग बनायो। पाठेघरमा ट्युमर रहेको स्विकार्नै उनलाई निकै गाह्रो भयो। अनवरत चिया पकाउँदै बेच्दै गरिरहेकी गंगाले आफ्नो पाठेघरमा ट्युमर पलाएको समेत थाहा पाइनन्। ट्युमर निकाल्न अपरेसन गर्नुपर्ने चिकित्सकले सुझाए।
अपरेसनपछि दुई दिनसम्म अस्पतालमा राखियो। त्यसपछि चिकित्सकको सुझावअनुसार अस्पतालबाट घर लैजान भनियो। परिवारले घर लिएर आए। अस्पतालमा हुँदा छोरी, श्रीमान्ले उनको पसल सम्हालिरहेका थिए। ग्राहकले भने गंगाले बनाएको चियाको स्वाद खोजिरहन्थे। उनको कामप्रतिको लगाव, उनले बनाएको चिया पिउने ग्राहकको चाहनाले आराम गरिरहन दिएन। घर फर्किएको पाँच दिनमै काममा फर्किहालिन्।
उनको शरीरले राहत महसुस गरिरहेको थियो। अपरेसन गरेको नौ वर्षपछि खुशीमा अचानक बज्रपात पर्यो। श्रीमान्को मृत्यु स्विकार्नुपर्यो उनले। अत्यधिक मद्यपानका कारण श्रीमान्को मृत्यु भएको उनको बुझाइ छ। श्रीमान्ले आफ्नो स्वास्थ्यको ख्याल गर्दैनथे। तारन्तार मद्यपान गर्ने बानीले गंगा दिक्क थिइन्। तर श्रीमान्को मृत्युले जीवनको सबैभन्दा नमिठो चोट दियो। त्यो घटना बिर्सन निकै गाह्रो भइरहेको उनले बताइन्। श्रीमानको मृत्यु भएको प्रसंग सुनाउँदा गहभरि आँसु छचल्किए। अनुहार मलीन भयो। त्यो घटनालाई ‘भाग्यको खेल भन्दै’ बिस्तारै आफूलाई सम्हाल्दै भनिन्, “रक्सी नखाऊभन्दा मानेनन्, आखिरमा उनलाई नै रक्सीले खाइदियो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
