दग्नाम गाउँको फेदीमा जान थालेको पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ। यसले निर्माणको अन्तिम चरणमा पुगेको बाँध जोखिममा परेको छ।
म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ।
रघुगंगा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउन निर्माणको अन्तिम चरणमा पुगेको बाँध पहिराको जोखिममा परेको हो। दग्नाम गाउँको फेदीमा सिर्जना भएको नयाँ पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ।
गत वर्षको बर्खामा सोही पहिरोबाट आएको गेगर निर्माणाधीन बाँधमा थुप्रिएर क्षति पुगेको थियो। पहिरो माथि रहेको दग्नाम गाउँ र फेदीको बाँधलाई जोखिम बनाएको छ। आयोजनाका प्रमुख राजबहादुर विष्टले पहिरोको नियन्त्रणका लागि अध्ययन थालिएको बताए। “बाँधको ठिकमाथि नयाँ सिर्जना पहिराले पार्न सक्ने क्षतिको आकलन गरेर नियन्त्रणका लागि अध्ययन थालिएको छ,” उनले भने, “प्राविधिक टोलीको अध्ययन प्रतिवेदन र सुझावको पर्खाइमा छौँ।”
१७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँधसँगै राहुघाट नदीको दायाँ किनारमा डिसेन्डर (पानी थिग्राउने) पोखरी निर्माणाधीन छन्। बाँध, डिसेन्टर र इनलेट (सुरुङको प्रवेशविन्दु) को ठिक करिब ३०० मिटरमाथि पहिरो सिर्जना भएको हो।
यसैबीच आयोजनाको हालसम्मको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ। सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरुङ, विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। आगामी २०८२ असार १५ भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिइएको आयोजनाको सिभिल महाशाखाका प्रमुख रविन कट्टेलले बताए।
“बाँधमा ब्यारेज, छ हजार २७० मिटर लामो मुख्य सुरुङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ,” उनले भने, “डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरुङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ।”
मुख्य सुरुङको चार वटा अडिटबाट लाइनिङ (ढलान र पलास्टर) भइरहेको छ। रघुगंगा–३ गतिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ। इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इक्युभमेन्ट (भेल)ले विद्युत् गृहमा टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम गरिरहेको छ।
विद्युत् गृह परिसरमा एआइएस (एयर इन्सुलेटेड) प्रविधिको स्वीचयार्ड निर्माण थालिएको छ। स्वीचयार्डका उपकरणले विद्युत् गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ।
विद्युत् गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस डग निर्माण सकिएको छ। राहुघाटबाट उत्पादन हुने विद्युत् लिलो (लुप इन, लुप आउट) प्रविधिबाट २२० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना–कुश्मा प्रसारण लाइन (डबल सर्किट) मार्फत केन्द्रीय ग्रिडमा जोडिने भएको छ। चार वटा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ।
आयोजनाको सिभिल ठेकेदारसँग २०७४ मंसिर महिनामा ठेक्का सम्झौता भएको थियो। ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिराका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ। कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो। पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
