वर्षाले रोकियो नेपाल र नामिबियाबीचको खेल

चार देशीय महिला टी–२० आई शृंखलाअन्तर्गत शनिबार भइरहेको नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ।

काठमाडौँ– युगान्डामा शुरू भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत शनिबार भइरहेको नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकिएको छ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा जारी खेल वर्षाका कारण रोकिएको हो।

नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ब्याटिङ गरिरहेको थियो। खेलको आठ ओभर सकिएपछि वर्षाले खेल रोकिएको हो। नामिबियाले आठ ओभरमा एक विकेट गुमाउँदै ३९ रन बनाएको छ। नामिबियाकी सुन विटम्यान नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएकी हुन्। नेपालकी पूजा महतोले उनको विकेट लिइन्। अहिले स्ट्राइकमा मेकेलान्ये म्वाटिले र एडेल भानजिल छन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो। नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन्। ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो। 

नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारे । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन्।