घर फर्किए अमेरिका पुगेका २० सम्पदा

‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, हिन्दू तथा बौद्ध धर्मसम्बद्ध यी सम्पदामा १७औँ शताब्दीको पद्यपाणिदेखि टेराकोट्टा भैरव मुखुन्डो र काली, तारासम्मका मूर्ति/आकृति छन्।

तस्वीर सौजन्य: लस्ट आर्ट्स अफ नेपाल

काठमाडौँ– काठमाडौँ उपत्यकाका मठमन्दिर, गुम्बा र पाटीपौवाबाट चोरिएर अमेरिका लगिएका १५ वटा मूर्तिसहित केही पौभाचित्र घर फर्किएका छन्।

हराएका/चोरिएका सम्पदाको प्रमाणीकरण तथा घरफिर्ती पहलको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, बुङमती, इटुम्बहालसहितका क्षेत्रबाट हराएका यस्ता सम्पदाको पहिचान/प्रमाणीकरणको लामो प्रयासबाट सम्पदा घर फिर्ता भएका हुन्। पुरातत्त्व विभागको कूटनीतिक तदारुकता तथा नेपाल सम्पदा पुनर्स्थापना अभियानसहितको सरोकारमा यी सम्पदा फर्किएका हुन्।   

पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्‌गका अनुसार, लामो समयदेखिको प्रयास र कूटनीतिक तहको पत्राचारपछि अमेरिकाको न्युयोर्कस्थित नेपाली वाणिज्यदूत कार्यालयमा संकलित २० सम्पदा काठमाडौँ ल्याइएको हो। अमेरिकास्थित नेवा अर्गनाइजेसनले यी सम्पदा घर ल्याउन आवश्यक सेवाशुल्क बेहोर्ने काम गरेको हो । घर फर्किएका सम्पदाको भन्सार मिनाहा गराउने प्रक्रिया जारी रहेको उनले बताइन्।      

लस्ट आर्टस् अफ नेपाल अभियानका अनुसार, हिन्दू तथा बौद्ध धर्मसम्बद्ध यी सम्पदामा १७औँ शताब्दीको पद्यपाणिदेखि टेराकोट्टा भैरव मुखुन्डो र काली, तारासम्मका मूर्ति/आकृति छन्। यस्तै, बल्खु सरस्वती र बुङ्‍ग बुद्धमुर्तिसमेत घर फर्किएका छन्। लिच्छवी, मल्ल र शाहकालको प्रतिनिधित्व गर्ने यी सम्पदामा पुरातात्त्विक महत्वको इटुम्बहाल पौभासमेत छन्।