जंगु र रुपाले जिते बाँके एमटीबी रेसको उपाधि

इलाइट महिलातर्फ रुपा थारु ४३:३६ मिनेटमा रेस पूरा गर्दै विजेता बनिन्। कविता सार्कीले ४६:४२ मिनेटसहित उपविजेता र सीता सार्की ४७:२८ मिनेटसहित तेस्रो भए।

नेपालगन्ज– बाँकेमा पहिलोपटक आयोजना गरिएको ‘बाँके एमटीबी रेस २०२५’ को उपाधि जंगु थारु र रुपा थारुले जितेका छन्।

पाँच किलोमिटर दूरीको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगु ५२:५८ मिनेटमा निर्धारित दुरी पूरा गर्दै विजेता बने। विशाल थारु (५७:५६) उपविजेता र बिमलेस यादव (५७:५८) तेस्रो भए। उनीहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे। 

इलाइट महिलातर्फ रुपा ४३:३६ मिनेटमा पूरा गर्दै विजेता बनिन्। कविता सार्कीले ४६:४२ मिनेटमा पूरा गर्दै उपविजेता र सीता सार्की ४७:२८ मिनेटसहित तेस्रो भए। उनीहरूले पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाए। 

डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल काेर्षमा भएको रेसमा मास्टरतर्फ देव बोहरा (३४:३१) पहिलो, दीपक मल्ल (३८:४२) दोस्रो र विशाल श्रेष्ठ (४१:०६) तेस्रो भए। उनीहरूलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजारसहित पदक र प्रमाणपत्रले कदर गरियो। भेट्रानतर्फ अजय केसी (४१:०३), जितेन्द्र थारु (४२:०८) र कविराम थारु (४४:५१) ले क्रमशः शीर्ष तीन स्थान हासिल गरे।

यूसीआई क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलाेचन बाेहराले ३५:४४ मिनेटमा पूरा गर्दै पहिलो, वीरेन्द्र धाेबी ३५:५५ मिनेटमा पूरा गर्दै दोस्रो र रञ्जित चौहान ३७:०८ मिनेटमा पूरा गर्दै तेस्रो भए। भेट्रान र जुनियरतर्फ शीर्ष तीनले ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरे।

डुडुवा गाउँपालिकास्थित जंगलमा रहेको यो काेर्ष साइक्लिङका लागि सुन्दर र आकर्षक मानिन्छ। साइकलमार्फत पर्यटक भित्र्याउने लक्ष्यसहित गाउँपालिकाले सहयोग गरेको रेस आयोजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले जानकारी दिए। टिम द एजकाे सहकार्यमा भएको यो रेस हरेक वर्ष सञ्चालन गरिने थापाको भनाइ छ।