शेखर-गगन समूहको बैठक अनिर्णित, मंगलबार पुनः छलफल हुने

नेपाली कांग्रेसको संस्थापनइतर समूहको छलफल मंगलबार बिहान ८ बजे पुनः बस्ने गरी टुङ्गिएको सहमहामन्त्री जीवन परियारले बताए।

काठमाडौँ– नेपाली कांग्रे‍सभित्रको संस्थापनइतर समूहको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। संसदीय दलको नेताका विषयमा छलफल गर्न सोमबार बसेको बैठक मंगलबार बिहान पुनः बस्ने गरी टुङ्गिएको हो।

संसदीय दलको नेतामा दाबी प्रस्तुत गरेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाउन संस्थापनइतर समूहले छलफल गरेको हो। लाजिम्पाटस्थित एक होटलमा डा. कोइराला र महामन्त्री थापा दुवैलाई राखेर नेताहरूले सहमति जुटाउने प्रयास गरेका हुन्।

सोमबार सहमति जुट्न नसकेपछि मंगलबार बिहान पुनः छलफल गर्ने गरी बैठक सकिएको सहमहामन्त्री जीवन परियारले बताए। उनले दुवै नेताहरूलाई राखेर मिलेर जान आग्रह गरेको बताए।

"तपाईं दुवै जना लड्न हुँदैन, मिलेर जानुपर्छ भन्ने कुरा भयो। आज निष्कर्ष ननिस्किएकाले फेरि भोलि बिहान ८ बजे बसेर छलफल गर्ने कुरा भएको छ", उनले भने।

कांग्रेसले बुधबारका लागि संसदीय दलको नेताको निर्वाचन गर्ने तालिका तय गरेको छ। संस्थापन पक्षबाट पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेताको आकांक्षी छन्। इतर पक्षमा डा. कोइराला र महामन्त्री थापाले दाबी गरिरहेका छन्। दुवैलाई मनाएर एक जना मात्र उम्मेदवार बनाउनका लागि इतर समूहमा छलफल भइरहेको छ।