सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको ‘रुलिङ’

राष्ट्रियसभा अध्यक्षले शून्य र विशेष समयमा सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका छन्।

राष्ट्रियसभाको बैठक । तस्वीरः प्रदीपराज वन्त/रासस

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई ‘रुलिङ’ (निर्देशन) गरेका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन्।

उनले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरूले उठाएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, स्वर्गाद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाहबारे उठेका प्रश्नको जवाफ दिन निर्देशन दिए।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेश गरे। राष्ट्रियसभाको अर्को बैठक आगामी चैत ४ गते दिउँसो १ः१५ हुनेछ।