मानव बेचबिखन मुद्दामा दोषी ठहर भई १० वर्ष जेल सजाय भुक्तान गरेर छुटेका मानबहादुर पुनः सोही अपराधमा संलग्न भेटिएको ब्युरोले जनाएको छ।
काठमाडौँ– नेपाली युवतीलाई भारतको रेडलाइट क्षेत्रमा बेचबिखन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौँ तारकेश्वर बस्दै आएका ३२ वर्षीय मानबहादुर तामाङ र नुवाकोटकै दुप्चेश्वर गाउँपालिका–६ का २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूलाई तारकेश्वरकै मनमैजु र पदमसालबाट माघ २१ र २३ गते पक्राउ गरेको हो।
ब्युरोले आइतबार दुवै जनालाई सार्वजनिक गरेको हो। ब्युरोका अनुसार पक्राउ परेका मानबहादुर यसअघि पनि मानव बेचबिखन मुद्दामा दोषी ठहर भई १० वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए। तर सजाय भुक्तान गरेपछि पनि उनी पुनः सोही अपराधमा संलग्न भएको खुलेको हो।
ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीका अनुसार उनीहरूले दुई जना युवतीलाई दार्जिलिङ घुम्न जाने, नयाँ मोबाइल किनिदिने र राम्रो काम खोजिदिने भन्दै मंसिर १८ गते ललितपुरको गोदावरी–१२, चापागाउँ ठेचोबाट काठमाडौँ ल्याए। त्यसपछि उनलाई कोटेश्वरबाट झापा–काँकडभिट्टा हुँदै भारत पुर्याए।
“सामान्य चिना–परिचयपछि उनीहरूलाई घुम्ने र काम लगाइदिने बहानामा भारत पुर्याएको रहेछ,” प्रमुख जिसीले भने। उनका अनुसार दार्जिलिङ, कोलकात्ता, दिल्ली हुँदै महाराष्ट्रको पुणे पुर्याइएका उनीहरूलाई १५ दिन होटलमा बन्धक बनाएर राखिएको थियो। त्यसपछि उनीहरूलाई पुणेको रेडलाइट एरियामा बेचिएको थियो।
ब्युरोका अनुसार मानबहादुरले पीडित युवतीलाई दुई लाख लाख भारतीय रुपैयाँमा रेडलाइट एरियामा दलाललाई बेचेका थिए। त्यहाँ उनलाई न्यु बिल्डिङ फुड प्लाजाभित्रको कोठीमा बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा लगाइएको थियो। “एक जना युवतीलाई निरन्तर निगरानीमा राखिएको, शारीरिक र मानसिक यातना दिइएको खुलेको छ,” उनले भने।
पछि ती पीडित युवतीले उक्त कोठीमा कार्यरत अर्की महिलाको मोबाइलबाट लुकेर नेपालमा श्रीमान्लाई फोन गरिन्। त्यसलगत्तै उनका श्रीमान्ले ब्युरोलाई जानकारी गराएका थिए। त्यसपछि भारतीय प्रहरीको सहयोगमा रेडलाइट क्षेत्रमा छापा मार्ने तयारी थियो। त्यो कुरा थाहा पाएपछि दलालहरू डराएर युवतीलाई बस चढाएर नेपाल–भारत सीमास्थित सुनौली पठाए। त्यसपछि सुनौली पुगेपछि नेपाल प्रहरीले युवतीलाई उद्धार गरी काठमाडौँ ल्याएको हो।
अर्की युवती भने आफै त्यहाँबाट भाग्न सफल भएकी थिइन्। यद्यपि उनले उजुरी भने दिएकी छैनन्। अनुसन्धानका क्रममा ती युवतीलाई निरीमाया घलानको नाममा नक्कली नागरिकता बनाएर काँकडभित्ता नाकाबाट सीमा पार गराइएको खुलेको छ।
त्यस्तै, यस घटनामा संलग्न अर्का व्यक्ति सन्चबहादुर तामाङ डाँका तथा चोरी मुद्दामा दोषी ठहर भई नख्खु कारागारमा सजाय काट्दै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
