पूर्वराजा काठमाडौँ फर्किँदा जे देखियो (तस्वीरहरू)

पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका समर्थकको भिडका कारण विमानस्थल–चक्रपथ क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो।

तस्वीरहरू फोटो लाइब्रेरी

काठमाडौँ– पश्चिम नेपालको भ्रमण पूरा गरी काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा राजवादीहरूले शक्ति प्रदर्शन गरेका छन्। भ्रमण पूरा गरी पूर्वराजा शाह पोखराबाट समिट एयरको जहाजमार्फत आइतबार अपराह्न त्रिभुवन विमानस्थल उत्रिएका थिए।

त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकले स्वागत गरेका थिए। उनको स्वागतमा त्रिभुवन विमानस्थल अगाडि उपस्थित भएका समर्थकले राजसंस्थाको पक्षमा र सरकारविरुद्ध प्रदर्शन गरेका थिए। पूर्वराजाको स्वागतमा उपस्थित भएकाहरूको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो।

राजवादीको शक्ति प्रदर्शनका कारण विमानस्थल–चक्रपथ क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो। विमानस्थल क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि कडा गरिएको थियो। सुरक्षाकर्मीले कर्मचारी र हवाई टिकट भएकाबाहेक अरूलाई विमानस्थलमा प्रवेश गर्न दिएका थिएनन्।