कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

काठमाडाैँ– आइतबार साँझ काठमाडाैँ उपत्यकालगायत केही पहाडी भेगमा हल्का वर्षा भए पनि अहिले माैसम सफा छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसले गर्दा सोमबार दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यस्तै, राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ।  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।